
काठमाडौं : सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरका आधारमा इक्रा नेपालल एमएडब्लु हायर पर्चेज प्रालिको क्रेडिट रेटिङ स्तरोन्नति गरेको छ । कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबिबि प्लसबाट बढाएर एलबिबिबि माइनस र अल्पकालीन रेटिङ सुधार गरी ए ३ मा उकासिएको हो ।
रेटिङ एजेन्सीका अनुसार यो स्तरोन्नतिले कम्पनीको समग्र क्रेडिट प्रोफाइल सुदृढ बन्दै गएको संकेत गर्छ । विशेषगरी मोबाइल फोन फाइनान्सिङ क्षेत्रमा कम्पनीले अपनाएको प्रविधिमा आधारित नियन्त्रण प्रणाली र प्रभावकारी रिकभरी संयन्त्रले सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको उल्लेख गरिएको छ ।
कम्पनीको नाफा आर्जन क्षमता पनि सन्तुलित रूपमा कायम देखिएको छ । स्थिर नेट इन्ट्रेस्ट मार्जिन र सञ्चालन खर्चमा गरिएको नियन्त्रणका कारण नियमित सञ्चालन नाफा कायम राख्न सहयोग पुगेको छ ।
यससँगै, करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेजले सम्भावित जोखिम बहन गर्ने क्षमता थप मजबुत बनाएको छ । कम्पनीको कर्जा पोर्टफोलियो विविधीकृत र स–साना खण्डमा विभाजित रहेको छ, जसले जोखिम न्यूनीकरणमा सहयोग पुर्याएको छ । मध्यम स्तरको लोन–टु–भ्याल्यु अनुपातमा केन्द्रित रणनीतिले पनि वित्तीय स्थायित्वलाई बल पुर्याएको विश्लेषण गरिएको छ ।