२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

भट्ट–अग्रवाल अनुसन्धानले खोतल्दै बिचौलिया जालो

Nada
विष्णु पोखरेल
२०८३ वैशाख ७ गते ०६:४०
Shares
भट्ट–अग्रवाल अनुसन्धानले खोतल्दै बिचौलिया जालो

काठमाडौं : नेपाली सेयर बजारमा मुख्य खेलाडीमध्येका दीपक भट्ट र शुलभ अग्रवालको सम्पत्ति छानबिनमा उनीहरूसँगै अन्य व्यक्ति पनि तानिने सम्भावना बढेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।  

ncell

प्रहरीले सेयर बजार मात्र नभएर सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुरदेखि लगानीसम्मका पाटो केलाउँदै लगेपछि यस प्रकरणमा लहरो तान्दा पहरो भत्किने अवस्था आएको हो । पब्लिक लिमिटेड कम्पनीको पैसा लगेर सेयरमा लगानी गर्दै आएको यो जालोको एकपछि अर्का घटना सार्वजनिक भइरहेका छन् । उनीहरूले नेपाली पुँजी बजारको इतिहासमै सबैभन्दा ठुलो ‘ह्वाइट कलर क्राइम’ गरेको आरोप लागेको छ ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डबाट अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा अप्रत्याशित रूपमा आयो । उक्त प्रकरणमा दुई व्यक्ति मात्र नभई ठुलो सञ्जाल संलग्न रहेको प्रारम्भिक निष्कर्षमा अनुसन्धान अधिकारीहरू पुगेको स्रोतको दाबी छ । श्रेष्ठ संलग्न बोर्डको अन्तिम बैठकले थप व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउने निर्णय गर्नुले पहरो भत्कने अवस्था आएको हो । बोर्ड बैठकमा झन्डै दर्जनभन्दा बढी उद्योगी, व्यापारी तथा अन्य उच्चपदस्थ व्यक्तिहरूलाई कारबाहीका लागि सिफारिस गरिएको धितोपत्र बोर्डका एक सदस्यले मध्यान्हलाई बताए । 

गत शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले राजीनामा दिएका थिए । तर, राजीनामा दिनुअघि उनले चालेको कदमले धेरैलाई झस्काएको हो । यो कदमलाई कतिपयले ‘आफू डुब्नुअघि अरूलाई पनि तान्ने’ रणनीतिको रूपमा हेरेका छन् भने कतिपयले यसलाई आफ्नो ‘नैतिकता’ बचाउने अन्तिम अस्त्र प्रयोग गरेको ठानेका छन् । कैफियत देखिएकाको सूची बोर्डको सञ्चालक समितिले निर्णय गरेर सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गर्ने व्यवस्था छ । यस प्रकरणमा संलग्न सबैलाई अनुसन्धानमा ल्याउनुपर्छ भन्ने मान्यताका साथ निर्णय भएको बताइएको छ ।

कसरी तानिँदै छ पहरो ?

नेपालको पुँजी बजारमा गलत प्रवृत्तिका रूपमा मौलाएको दीपक भट्ट र शुलभ अग्रवाल प्रकरणलाई संगठित आर्थिक अपराधका रूपमा लिएर अनुसन्धान अघि बढेको स्रोत बताउँछ । झट्ट हेर्दा सामान्य लगानी साझेदारीजस्तो देखिएको यो प्रकरण अहिले विस्तृत छानबिनको विषय बनेको छ । स्रोतहरूका अनुसार करिब तीन अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर अनियमित तरिकाले खरिद–बिक्री भएको आशंका गरिएको छ । जसमा लगानीकर्ताहरूको जानकारीबिना उनीहरूको नाममा समेत कारोबार भएको बताइन्छ । 

छानबिनका क्रममा सबैभन्दा संवेदनशील विषयका रूपमा प्रविधिको दुरुपयोग गरेको पाइएको छ । दीपक भट्टले आफ्नो ट्रेडिङ व्यवस्थापन प्रणाली (टिएमएस)को लगइन र पासवर्ड स्टक ब्रोकरलाई उपलब्ध गराएको र त्यही पहुँच प्रयोग गरेर ठुलो परिमाणमा सेयर किनबेच गरिएको खुलेको छ । यसै माध्यमबाट शुलभ अग्रवालमार्फत कारोबार सञ्चालन गरिएको आशंका गरिएको छ, जसले ‘प्रोक्सी ट्रेडिङ’ गरेको देखाउँछ । 

यस प्रकरणले ब्रोकर कम्पनीहरूको भूमिकामाथि पनि प्रश्न उब्जाएको छ । विशेषगरी अग्रिम रकम नलिई कारोबार गरिनु, एक लगानीकर्ताको रकम अर्कोमा प्रयोग गरिनु र क्रेडिटमा ठुलो परिमाणमा सेयर किनबेच गरिनुजस्ता गतिविधि कसरी भए भन्नेमा अनुसन्धान केन्द्रित रहेको स्रोत बताउँछ । कतिपय सूचनाहरूले बिमा कम्पनी, ठुला लगानी समूह तथा प्राविधिक पहुँच भएका व्यक्तिहरू समेत यस जालोमा जोडिएको देखाएको छ । जसले गर्दा यस प्रकरणमा धेरैजना जोडिने देखिएको छ ।  

अर्कोतर्फ छानबिन सेयर बजारमा मात्र सीमित नभई मनी लाउन्डरिङ, सार्वजनिक ठेक्का र नीति प्रभावसम्म पुगेको छ । त्यसैले यी राडारमा धेरै प्रभावशाली व्यक्ति जोडिने देखिएको छ । तर, सम्पत्ति शुद्धीकरण विभाग र सिआइबीले त्यो जालो तोड्नसक्नेमा शंका भने कायमै छ । गृहमन्त्री सुधन गुरुङसमेत दीपक भट्टको व्यावसायिक साझेदार रहेको खुलासा भएकाले पनि अनुसन्धान टुंगोमा पुग्नेबारे अहिल्यै भन्न नसकिने अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । उनले भने, ‘यो जालोमा धेरै प्रभावशाली व्यक्ति जोडिने देखिएको सत्य हो, तर सरकारले यसलाई कसरी लैजान्छ भन्ने कुरा मुख्य हो । विस्तृत विवरण अनुसन्धान प्रक्रियासँगै सार्वजनिक हुनेछ ।’ 

अनुसन्धानमा संलग्न निकायहरूले केही व्यक्तिहरूले आफ्नो आर्थिक प्रभाव प्रयोग गरी जलविद्युत् आयोजना, बैंक तथा बिमा लाइसेन्स र बजेटमार्फत कर संरचनामा समेत प्रभाव पार्ने प्रयास गरेको हुनसक्ने कोणबाट समेत अनुसन्धान अघि बढाइरहेका छन् । यसले यो प्रकरण ‘सेयर बजार घोटाला’भन्दा पनि ‘ह्वाइट कलर क्राइम’ र ‘पावर नेटवर्क’ को जालो हुनसक्ने देखाउँछ । हाल भट्ट र अग्रवाल दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ भने उनीहरूको घर तथा कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजातहरू जफत गरिएको छ । केही बैंकका खाता पनि रोक्का गरिएको छ । तर, अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेकाले सम्पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।

बैंकिङ कसुरमा पनि तानिए 

सम्पत्ति शुद्धीकरण, सेयर बजारमा चलखेल मात्र नभएर भट्ट र अग्रवाल बैंकिङ कसुरमा समेत तानिएका छन् । उनीहरूसँगै शंकर समूहकै साहित अग्रवाल पनि बैंकिङ कसुरमा तानिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ऋण अपचलनको विषयमा पनि अनुसन्धान सुरु गरेको हो । जगदम्बा स्टिलका नाममा लिएको ऋणमध्ये १५ करोड रुपैयाँ भट्टलाई प्रयोजनबिनै भुक्तानी गरिएको र भट्टले सोही पैसा हिमालयन रि–इन्स्योरेन्सको सेयर खरिद गर्न प्रयोग गरेको भेटिएको अर्काे स्रोतको भनाइ छ । 

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा सीआईबीले हिमालयन रि–इन्स्योरेन्सको सेयर लगानीका बारेमा अनुसन्धान सुरु गरेको थियो । यही क्रममा सिआइबीले नेपाल राष्ट्र बैंकको सहयोग पनि लिएको हो । जसबाट उनीहरूले ठुलो मात्रामा ऋणको दुरुपयोग गरेको भेटिएको हो । भट्ट, सुलभ, साहिलसहितका व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणका साथै बैंकिङ कसुर, धितोपत्र कसुर, बिमा कसुर र ठगीमाथि अनुसन्धान भइरहेको हो । नेपाल धितोपत्र बोर्ड, बिमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्जलगायतले प्रतिवेदन बुझाइसकेका छन् । त्यसलाई समेत आधार मानेर सिआइबी र सम्पत्ति शुद्धीकरण विभागले उनीहरूमाथि मुद्दा दायर गर्ने तयारी गरिरहेका छन् । 

भट्ट र अग्रवाल दाजुभाइले विभिन्न पब्लिक लिमिटेड कम्पनीको अर्बौं रुपैयाँ निकालेर आफ्नो नाममा सेयर किनेको विषयमा अनुसन्धान चलिरहँदा अनुसन्धानको राडार बैंकिङ कसुरदेखि सम्पत्ति अनुसन्धानसम्म पुगेको हो । 

uae

सम्बन्धित खबर