
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न माग गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढ्दा समेत भाडा समायोजना नहुँदा यातायात व्यवसायी मारमा परेको उनको भनाइ छ । उनले डिजेलमा दुई पटक गरी ५५ रुपैयाँ वृद्धि भएको र पेट्रोलको मूल्यमा समेत वृद्धि भइरहेको अवस्थामा बागमती प्रदेशले मात्रै भाडा समायोजन गरेको उल्लेख गरे ।
वार्षिक रूपमा हुने भनिएको भाडा समायोजन प्रक्रिया अब प्रभावहीन भइसकेको उनको जिकिर छ । उनले हवाई क्षेत्र र नेपाल आयम निगमजस्तै स्वचालित भाडा समायोजन प्रणालीको पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन माग गरे । उनले पेट्रोलियम पदार्थमो मूल्यमा गिरावट आउँदा सरकारले सोहीअनुसार मूल्य समायोजन गर्दापनि व्यवसायीलाई स्वीकार्य भएको पनि बताए ।
कार्यवाहक अध्यक्ष सिटौलाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउन सातामा दुई दिन बिदा दिने निर्णय गरेपनि त्यसले रूपमा इन्धन खपत घटाउन नसकेको जिकिर गरे । सरकारी निकायमा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कर्मचारी, विद्यार्थी, पेशाकर्मी लगायतले खपत घटाउनुको सट्टा झन धेरै खपत गरेको उनको भनाइ छ ।
सरकारले सातामा दुई दिन बिदा दिने निर्णयको समीक्षा गर्नुपर्नेमा उनको जोड छ । उनले इन्धन खपत कम गर्न विद्युतीय बाहेकका निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव समेत दिए । उनले इन्धन अभाव हुँदासम्म निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नसके सार्वजनिक यातायात र इन्धन आपूर्तिमा समेत सहज हुने उनको बुझाइ छ ।
उनले सार्वजनिक सवारी साधनको भाडा सरकारले समायोजन नगरे व्यवसायी चुप लागेर नबस्ने उनको चेतावनी छ । उनले सार्वजनिक यातायातलाई प्रविधिमैत्री, क्यासलेस र जिपिएस प्रणालीमा लैजान आवश्यक रहेको पनि बताए ।