
काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सातै प्रदेशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै १७०० वटा बिरुवा रोपेर वातावरण संरक्षणमा योगदान पुर्याएको हो ।
बैंकले आफ्नो ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत सञ्चालन गरेको उक्त अभियानअन्तर्गत प्रत्येक प्रदेशमा करिब २५० वटा बिरुवा रोपिएको जनाएको छ । यस पहलले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय समुदायमा हरियाली विस्तार, स्वच्छ वातावरण संरक्षण तथा जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।
बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गर्दै देशव्यापी वृक्षारोपण गर्ने घोषणा गरेको थियो । सोही सहकार्यअनुसार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सफलतापूर्वक सम्पन्न गरिएको जनाएको छ ।
बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा खर्च गर्दै आएको दाबी गरेको छ ।
साथै, नवजात शिशुको अकाल मृत्यु न्यूनीकरण तथा जीवनरक्षा सम्बन्धी पहलमार्फत वार्षिक रूपमा हजारौं नेपाली शिशुको जीवन बचाउन सहयोग पुर्याउँदै आएको जानकारी पनि दिएको छ । हाल ज्योति विकास बैंकले देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।