२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

एकल फोटो प्रदर्शनी विटनेस अफ टाइम हुँदै

Nada
२०८३ वैशाख ८ गते २१:४६
Shares
एकल फोटो प्रदर्शनी विटनेस अफ टाइम हुँदै

नेपालगन्ज : पत्रकार तथा फोटोग्राफर जयनारायण शाहले खिचेका तस्बिरहरूको ‘विटनेस अफ टाइम’ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको छ । कला–संस्कृतिसम्बन्धी संस्था अन्तरालको आयोजना तथा व्यवस्थापनमा जेठ ११ र १२ गते नेपालगन्जमा प्रदर्शनी हुन लागेको हो ।

ncell

प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका विभिन्न आयामलाई समेट्ने महत्वपूर्ण क्षणहरू तस्बिरमार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ । ‘विटनेस अफ टाइम’ ले समयका साक्षी बनेका दृश्य, पात्र तथा नेपाली समाजको भेषभूषा, संस्कृति, दैनिक जीवन र प्राकृतिक सौन्दर्यलाई उजागर गर्ने लक्ष्य लिएको छ । प्रदर्शनीमा समावेश तस्बिरहरूले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध पक्ष अनुभव गराउने अपेक्षा गरिएको छ ।

फोटोग्राफर शाहका अनुसार, “कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन् । तिनै क्षणहरूलाई जीवित राख्ने प्रयासस्वरूप यो प्रदर्शनी आयोजना गरिएको हो ।”
गत डेढ दशकको अवधिमा मुलुकले भोगेका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलन, झडप, प्राकृतिक विपत्ति तथा सामाजिक उतारचढावका दृश्यहरू शाहका क्यामेरामा कैद छन् । भूकम्प, नाकाबन्दी, कोभिड महामारी र त्यससँग सम्बन्धित लकडाउनजस्ता कठिन कालखण्डका तस्बिरहरू पनि प्रदर्शनीमा समेटिएका छन्।

शाहले विभिन्न यात्राका क्रममा पुगेका स्थानहरूमा त्यहाँको जनजीवन, रहनसहन, बस्ती, भेषभूषा, प्रकृति, फूल, पदयात्रामा भेटिएका मानिस र सुन्दर दृश्यहरूलाई क्यामेरामा कैद गरेका छन् । ती सबै अनुभव र क्षणहरू अब प्रदर्शनीमार्फत सार्वजनिक गर्न लागिएको उनले बताए ।

आयोजक अन्तरालका अनुसार प्रदर्शनीले नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि गर्नुका साथै समाजको जीवन्त यथार्थ प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

समय, समाज र स्मृतिका कथा बोकेका यी तस्बिरहरू अवलोकनका लागि कलाप्रेमी, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनीमा उपस्थित हुन आयोजकले आह्वान गरेको छ ।

uae

सम्बन्धित खबर