२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

एम्नेस्टी प्रतिवेदन : ‘चैत १५ बुझेको भए भदौ २३-२४को घटना हुन्थेन’

Nada
दिवाकर अधिकारी
२०८३ वैशाख ९ गते ०६:३५
Shares
एम्नेस्टी प्रतिवेदन : ‘चैत १५ बुझेको भए भदौ २३-२४को घटना हुन्थेन’

काठमाडौं : एम्नेस्टी इन्टरनेसनलको मानवअधिकारसम्बन्धी प्रतिवेदनका अनुसार सन् २०२५ नेपालका लागि सुखद् रहेन । 

ncell

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘मानवअधिकार अवस्था सन् २०२५/२६’ सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने, ‘नेपालको सन्दर्भमा पनि मानव अधिकारको दृष्टिकोणमा सन् २०२५ दुःखद् रह्यो ।’

यसको कारण के हो त ? पृष्ठभूमिमा जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनका घटना, मानवीय क्षति र भौतिक क्षतिलाई राखिएको छ । 

जेनजी आन्दोलन किन भयो ? यसको पृष्भमूमिमा गत वर्ष चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजतन्त्र समर्थकको आन्दोलनलाई देखाइएको छ । 

१५ चैत २०८१मा राजतन्त्र समर्थकले काठमाडौंको तीनकुनेमा प्रर्दशन गरेका थिए । काठमाडौंको तीनकुनेमा प्रर्दशन गरेका थिए । त्यसक्रममा प्रहरीले धातुको गोली प्रयोग गर्दा लागेर २९ वर्षीय सबिन महर्जनको मृत्यु भयो । गोली लागेर २० जना घाइते भए । प्रदर्शनकारीले एक भवनमा आगो लगाउँदा भवनभित्र फसेका पत्रकार सुरेश रजकको पनि मृत्यु भएको थियो ।

शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रताको प्रयोग गर्दा व्यक्तिको मृत्यु नै हुने गरी राज्य प्रस्तुत भएको भनेर त्यसबेलै टिप्पणी भएका थिए । यस्ता टिप्पणी र प्रर्दशन दुवै केवल एउटा प्रदर्शनको विषय नभएर त्यो राज्य र समाजबीच बढ्दै गएको अविश्वासको संकेत थियो । 

त्यसबेला व्यक्तिको मृत्यु मात्रै भएन, प्रर्दशनकारीले सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक भौतिक क्षति गरे ।

चैत १५ को घटनामा एकजनाको ज्यान गुम्नुभन्दा ठुलो सन्देश राज्यको भिड व्यवस्थापन, सुरक्षा संयन्त्र र संवेदनशीलताको परीक्षण पनि थियो । त्यसबेलै सरकार चुकेको टिप्पणी भएका थिए । प्रदर्शनपछि तुरुन्तै स्वतन्त्र छानबिन, जिम्मेवारी निर्धारण र पीडितप्रति न्यायको प्रक्रिया अघि बढाउनुपर्ने थियो । तर त्यसतर्फ सरकारले ध्यान दिएन र नागरिकमा असन्तोष बढाउँदै लग्यो । 

अर्थात्, गत वर्षको चैत १५को घटनाले दिएको राजनीतिक र सामाजिक सन्देशलाई तत्कालीन सरकारले गम्भीरतापूर्वक नलिँदा वा त्यस सन्देशलाई ख्याल नगर्दा समाजमा बढ्दै गएको असन्तोष, राज्य र समाजबीच बढ्दै गएको अविश्वास जेनजी आन्दोलनका रूपमा विस्फोट भएको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनको सार छ । 

समाजसँग बढेको दूरी घटाउने गरी समस्या पहिचान, नागरिकसँग संवादको थालनी र नीतिगत सुधार गर्नेतिरभन्दा तत्कालीन सरकार नियन्त्रणमुखी हुँदै अघि बढेको र सामाजिक सञ्जालमाथिको नियन्त्रणसम्म पुग्दा ठुलो आन्दोलनको पृष्ठभूमि तयार भएको निष्कर्ष निकालिएको छ । 

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक थपलियाले भनेका छन्, ‘अघिल्लो वर्षको चैत १५को तीनकुनेको प्रदर्शनबाट पाठ सिकेर तत्कालीन सरकारले नीति बनाउन सकेको भए र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा नपुगेको भए जेनजी आन्दोलन नहुन सक्थ्यो ।’

एम्नेस्टी इन्टरनेसनलले आफ्नो प्रतिवेदनमा जेनजी आन्दोलनको क्षतिको विवरण पनि समावेश गरेको छ । सरकारी तथ्यांकअनुसार उक्त आन्दोलनमा ७६ जनाको मृत्यु भयो । सयौं घाइते भए । सार्वजनिक र निजी सम्पत्तिमा अर्बौं रुपैयाँबराबरको क्षति भएको छ । 

यस्तो अवस्थामा पनि राज्यले सुरुमा संवादको बाटो नरोजेको र यस्तो प्रवृत्तिले बढी क्षति भएको प्रतिवेदनको सार छ । तत्कालीन सरकार नियन्त्रण र दमनमार्फत आन्दोलन रोक्ने प्रयास गर्दा आन्दोलन झन् व्यापक र उग्र बन्न पुगेको निष्कर्ष निकालिएको छ । 

परिणामा जेनजी आन्दोलनले तत्कालीन सरकार ढाल्यो । नयाँ निर्वाचनमार्फत मुलुक अगाडि बढेको छ । 

ताजा खबर

सम्बन्धित खबर