
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले आफू विवादमा परे पनि तत्काल राजीनामा नदिने र प्रधानमन्त्री वालेन्द्र शाहले पनि बर्खास्त नगर्ने सन्देश दिनेगरी गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग लामो छलफल गरेका छन् । यद्यपि चौतर्फी दबाबपछि प्रधानमन्त्री शाहले उनलाई छलफलमा बोलाएका छन् । अहिले सिंहदरबारमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच छलफल चलिरहेको छ ।
शंकास्पद सेयर लगानी र विवादस्पद व्यवसायीसँगको संदिग्ध सम्बन्ध देखिएका गृहमन्त्री गुरुङलाई हटाउन पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दबाब छ । तर उनी तत्काल गुरुङलाई हटाउने मुडमा छैनन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्रीबारे प्रश्न उठेपछि प्रधानमन्त्री शाहले त्यसबारे निर्णय लिने जिम्मा स्वयम् गुरुङलाई दिए । शाहको भनाई उद्धृत गर्दै उच्च स्रोत भन्छ, ‘गृह मन्त्रालयमा विस्तृत छलफल गरेर यसबारे गृहमन्त्रीले नै स्वविवेकले निर्णय लिनुहुन्छ ।’
मन्त्रिपरिषद् बैठकअघि गृहमन्त्री गुरुङ पार्टी सभापति भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । सभापति लामिछाने विवादित गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री शाहलाई पनि उनले यही सल्लाह दिएका थिए । सभापति लामिछानेको मनशाय बुझेपछि प्रधानमन्त्री शाहकै सल्लाहमा गुरुङ बुढानीलकण्ठ पुगेका थिए । त्यहाँबाट सिधै सिंहदरबार गएर मन्त्रिपरिषद् बैठकमा बसे ।
मन्त्रिपरिषद् बैठक लगत्तै गृहमन्त्रालय पुगेका गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरिक्षक दानबहादुर कार्की, काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित उच्च अधिकारीहरुलाई बोलाए । उनीहरुसँग झण्डै ५ घण्टा छलफल गरेर निस्कँदा रातको ११ बजेको थियो ।
के भयो छलफल ?
गृहमन्त्री गुरुङले सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीलाई बोलाएर सुरुमा सुरक्षा स्थितिबारे ब्रिफिङ लिए । त्यस क्रममा मंगलबार नै उनको राजीनामा माग्दै सिंहदरबारभित्रै छिरेर नेविसंघले गरेको प्रदर्शनबारे पनि जानकारी लिए । त्यसपछि उनले शोभा पाठकको अनसनबारे कुरा झिके । एमाले सचिव महेश बस्नेतविरुद्ध बलात्कार तथा भ्रुण हत्याको आरोपसहित प्रहरी तथा अदालत धाइरहेकी पाठक अहिले अनशन बसेकी छिन् । स्वास्थ्य स्थिति बिग्रिएपछि अहिले उनलाई वीर अस्पतालमा राखिएको छ ।
अदालतबाट चाहेजस्तो आदेश नआएपछि उनी पुरक उजुरीसहित पुनः प्रहरीमा पुगेकी थिइन् । त्यसै आधारमा प्रहरीले अदालतसँग एमाले नेता बस्नेतलाई अनुसन्धान गर्न पक्राउ पुर्जी मागेको थियो । तर, अदालतले पक्राउ पुर्जी दिन मानेन् । अदालत र प्रहरी दुवैतर्फको ढोका बन्द भएपछि पाठक अनसन बसेकी हुन् । उनलाई भेट्न गृहमन्त्री गुरुङ वैशाख ३ गते माइतीघर पुगेका थिए । पाठकलाई अन्याय भएकोभन्दै गृहमन्त्री गुरुङले बस्नेतलाई पक्राउ गर्ने उपायबारे केहीबेर छलफल गरे । प्रहरी अधिकारीहरुले जाहेरी र उनले लगाएको आरोपको आधार कमजोर रहेको जानकारी गराएका थिए ।
त्यसपछि गुरुङ आफू पनि जोडिएको विषयमा प्रवेश गरेका थिए । विवादास्पद व्यवसायी दिपक भट्ट र शुलभ अग्रवालबिरुद्धको सम्पत्ति सुद्धिकरण अनुसन्धानमा जोडिएका व्यवसायीहरुलाई पक्राउ गर्नेबारे लामो छलफल भएको थियो । त्यसक्रममा गुरुङले आफ्नोबारे बाहिरिएका शंकास्पद कागजपत्र र आरोपबारे पनि प्रष्टिकरण दिने प्रयास गरेका थिए ।
छलफलको अर्को विषय प्रहरी–प्रशासनको सेवा बिस्तार र सहजतामा केन्द्रित थियो । जिल्ला प्रशासन कार्यालयमा लाग्ने लाइन हटाउनेदेखि प्रहरीमा आउने जाहेरीको छिटो अनुसन्धान हुनुपर्नेमा उनको जोड थियो । ट्राफिक व्यवस्थापनदेखि सडक दुर्घटना कम गर्नेबारे पनि उनले लामो व्याख्या गरेका थिए । गृह सचिव श्रेष्ठ अलि चाँडो निस्किए पनि प्रहरी प्रमुखहरुसहित गृहमन्त्री गुरुङ निस्कँदा भने रातको ११ बजेको थियो ।