
काठमाडौं : विभिन्न १८ वटा वस्तुगत संघ तथा महासंघहरूले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न सधारणसभामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका छन् ।
संस्थाहरूलाई सहभागी गराएर मात्रै उद्योग वाणिज्य महासंघको सधारणसभा गराउन माग गर्दै १८ वटा वस्तुगत संघ तथा महासंघहरूले बुधवार महासंघको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
यसअघि पाटन उच्च अदालतबाट १८ वटा वस्तुगत संघ तथा महासंघहरूलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश गरेको थियो । वस्तुगत संघहरूले आफूहरूले महासंघको निर्णयअनुसार विधिवत सदस्यता प्राप्त गरेको र महासंघको ५९औं वार्षिक साधारणसभामा सहभागी भई निर्णय प्रक्रियामा हस्ताक्षरसमेत गरेको भन्दै आगामी साधारणसभामा आफूहरूलाई सहभागी गराउन माग गरेका छन् ।
नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टीकाप्रसाद घिमिरेले सदस्यता नविकरण गर्न उद्योग वाणिज्य महासंघले नमानेको कारण आफूहरू आन्दोलनमा उत्रिएको बताए । महासंघले कार्यक्षेत्र जुधेको भएपनि अन्य संस्थाहरूको सदस्यता नविकरण गरेको त आफूहरूलाई सदस्यता दिन नमानेको आरोप लगाए ।
महासंघको ६०औं वार्षिक साधारणसभा यही वैशाख २१ र २२ गते काठमाडौंमा हुँदैछ ।