
काठमाडौं : काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना र कक्षा सञ्चालनको आफ्नै कार्यतालिका तय गरेका छन् । उपत्यका मेयर्स फोरमको बैठकले वैशाख ११ गतेदेखि भर्ना अभियान सुरु गर्ने र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको फोरमको बैठकले संघीय सरकारको पछिल्लो निर्णयले विद्यालय सञ्चालनमा अन्योलता सिर्जना गरेको निष्कर्ष निकाल्दै स्थानीय तहको अधिकार प्रयोग गरेर वैकल्पिक कार्यतालिका अघि सारेको जनाएको छ । फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जारी गरेको विज्ञप्तिमा उपत्यकाका सबै पालिकालाई उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
यसअघि मन्त्रिपरिषद्ले वैशाख १५ देखि भर्ना अभियान र वैशाख २१ बाट कक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो । तर शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ बाटै सुरु हुनुपर्ने व्यवस्था र संविधानले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको सन्दर्भमा संघीय निर्णयले तालमेल नमिलेको फोरमको भनाइ छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विद्यालय स्थापना, सञ्चालन, व्यवस्थापन र नियमनको जिम्मेवारी स्थानीय तहलाई दिएको उल्लेख गर्दै फोरमले नियमित शैक्षिक गतिविधिमा अवरोध नआओस् भन्ने उद्देश्यले समयमै कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
साथै, विद्यार्थी भर्नासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश, विभिन्न स्थानीय तहले यसअघि नै तय गरिसकेको शैक्षिक क्यालेन्डर तथा सरोकारवाला निकायहरूको सुझावलाई समेत ध्यानमा राखेर निर्णय गरिएको फोरमले जनाएको छ । शिक्षक महासंघ, निजी विद्यालय संगठनहरू र अभिभावक समूहबाट प्राप्त सुझावका आधारमा सिकाइमा हुने क्षति न्यूनीकरण गर्न समयमै पठनपाठन सुरु गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।
यस्तै, पछिल्लो समय देखिएको इन्धन अभावप्रति पनि फोरमले चिन्ता व्यक्त गरेको छ । विद्यालय सञ्चालनमा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विद्युतीय सवारीसाधन प्रयोगलाई प्राथमिकता दिन विद्यालयहरूलाई आग्रह गरिएको छ ।
इन्धन संकट थप गहिरिएमा पठनपाठन प्रभावित हुन नदिन अनलाइन कक्षा लगायतका वैकल्पिक व्यवस्था गर्नसमेत विद्यालय र सरोकारवालालाई तयारी अवस्थामा रहन फोरमले अनुरोध गरेको छ ।
