२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

Nada
२०८३ वैशाख ९ गते १९:०१
Shares
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ : काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ । 

ncell

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले आज उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा निजी तथा सार्वजनिक दुवै प्रकारका सवारी रहेका छन् । 

नियमित रूपमा सञ्चालनमा रहेका यस्ता सवारीले तोकिएको प्रदूषण मापदण्ड उल्लंघन गर्दै अत्यधिक धुवाँ फाल्ने गरेको पाइएपछि कारबाही स्वरूप नियन्त्रणमा लिएर अहिले ती सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा राखिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “मापदण्डभन्दा बढी धुवाँ फालेर वातावरण प्रदूषण गर्ने सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्छ । नियमअनुसार जरिवाना तथा प्राविधिक सुधारपछि मात्रै त्यस्ता सवारी साधनलाई छाडिनेछ ।” 

उनले पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएकाले ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको पनि जानकारी दिए । 

सवारीसाधनको नियमित मर्मतसम्भार नगर्ने, इन्जिनमा समस्या भए पनि बेवास्ता गर्ने तथा प्रदूषण परीक्षण नगरी सडकमा गुड्ने प्रवृत्तिका कारण यस्तो समस्या बढिरहेको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले सवारी चालक तथा धनीहरूलाई समयमै सवारी साधनको प्रदूषण परीक्षण गराउन, इन्जिनको नियमित मर्मत गर्न र वातावरणमैत्री अभ्यास अपनाउन आग्रह गरेको छ । साथै, आगामी दिनमा यस्ता अनुगमनलाई अझ सशक्त बनाइने र मापदण्ड उल्लंघन गर्ने सवारी साधनमाथि कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला निकाय, सवारी धनी तथा सर्वसाधारण सबैले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता देखिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए । काठमाडौँ महानगरपालिकाले पनि वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै  ट्राफिक प्रहरीसँग सहकार्य गर्दै प्रदूषण नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

uae

सम्बन्धित खबर