
बर्दिया : बर्दियाबाट काठमाडौं गन्तव्यलाई लक्षित गर्दै सुविधा सम्पन्न श्रीपेच होलिडेज एसी बस सेवा सञ्चालनमा आएको छ । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालिले सर्वसाधारण यात्रुको मागलाई ध्यानमा राख्दै वैशाख ९ गतेदेखि सेवा सुरु गरेको जनाएको छ ।
प्रालिका अध्यक्ष रवि मल्ल ठकुरीका अनुसार सुरक्षित, आरामदायी र स्तरीय यात्रा अनुभव प्रदान गर्ने उद्देश्यसहित नयाँ बस सेवा सञ्चालनमा ल्याइएको हो । उनका अनुसार यात्रुहरूको सहजता र सुविधालाई प्राथमिकता दिँदै आधुनिक प्रविधियुक्त बस सञ्चालन गरिएको हो ।
नयाँ एसी बसमा सुत्ने व्यवस्था मिलाइएको तीन वटा स्लिपर बेडमा एकैपटक ६ जना यात्रुले आरामसँग यात्रा गर्न सक्नेछन् । साथै भिआइपी सोफा सिट, निःशुल्क वाइफाइ, सिसी क्यामेरा, जिपिएस ट्र्याकिङ र मोबाइल चार्जिङ पोइन्टजस्ता सुविधाहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
हाल बर्दिया–काठमाडौं रुटमा चार वटा श्रीपेच होलिडेज एसी बस सञ्चालनमा ल्याइएको अध्यक्ष ठकुरीले जानकारी दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव शम्भु रिजालले सञ्चालनमा ल्याइएका बसहरूलाई देशकै स्तरीय सेवामध्ये एक भएको उल्लेख गरे ।
यस्तै, उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेका अनुसार स्थानीय लगानीमा सञ्चालनमा आएको यस सेवा सुरु भएसँगै बर्दियावासीले अब अझै सहज र आरामदायी यात्रा गर्न पाउने अपेक्षा गरिएको छ ।