
सिन्धुपाल्चोक : बलेफी गाउँपालिका–१ जलविरेमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो ।
विशेषज्ञ चिकित्सकसहित जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिका लगायतको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, क्षयरोगको स्क्रिनिङ, एक्सरे सेवा, स्त्री तथा प्रसूति, स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा तथा औषधि प्रदान गरिएको छ ।
शिविरको पहिलो दिन ७ सय ६० जनाले सेवा लिएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिए ।
ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले बताए ।
बिहीबार बलेफीको वडा नं ४ मा शिविर आयोजना गरिने उनले जानकारी दिए ।
कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य शिविरमा परीक्षणपछि कुनै रोग देखिए प्रदेश सरकारले सहयोग गरेर उपचार गरिने बताए । वर्षौंदेखिको रोगको उपचार होस् भनेर शिविर विगत वर्षझैँ आयोजना गरिएको उनको भनाइ छ ।
जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको भौतिक संरचना बनेको उल्लेख गर्दै अब आधारभूत अस्पतालको रूपमा सञ्चालन गर्न जनशक्ति, उपकरण लगायतका लागि छिमेकी पालिकाहरूसँग समन्वय र सहकार्य गर्न आग्रह गर्दै यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जनशक्ति उत्पादनका लागि पढाइ सुरु गरेको र व्यवस्थापन गरेर स्थानीय तहमा पुर्याउने उनले बताए ।
प्रदेश सरकारले विभिन्न कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रमा काम गरिरहेको मन्त्री थापा मगरले बताए ।
‘एक जिल्ला एक स्वास्थ्य शहर’, ‘एक पालिका एक नमुना स्वास्थ्य संस्था’ लगायत कार्यक्रम प्रदेशले सञ्चालन गर्न थालेको उनले जानकारी दिए ।
९८ प्रकारका निःशुल्क औषधि प्रदेशका नागरिकलाई सहज र प्रभावकारी रूपमा पु¥याउन सरकार लागेको उनको भनाइ छ ।
त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपालले शिविर आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै गाउँ–गाउँमा स्वास्थ्य शिविर अझै सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले प्रदेश सरकारले यस क्षेत्रमा स्वास्थ्य संस्थाका लागि पर्याप्त जनशक्ति र उपकरण उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले मन्त्रालय तथा पालिकाको सहयोगमा गाउँ–गाउँमा शिविर सञ्चालन गरिएको बताउँदै थप उपचारका लागि चौतारा, भक्तपुर, धुलिखेल लगायत अस्पतालमा रिफर गरिने बताए ।
गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले अस्पतालको भौतिक संरचना भए पनि आधारभूत अस्पतालको रूपमा सञ्चालनका लागि जनशक्ति र स्रोत अभाव रहेकाले प्रदेश सरकारसँग सहयोगको आग्रह गरे । उनले आवश्यक चिकित्सक, कर्मचारी तथा उपकरण उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं १ का अध्यक्ष एवं जलविरे प्राथमिक स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष हुपबहादुर खड्काले अस्पतालको भौतिक संरचना निर्माणसँगै अब आधारभूत अस्पतालको रूपमा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरणको अभाव रहेको बताए ।