२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

एक महिनामै अकासियो बजारभाउ

उपभोग्य वस्तुमा ६० प्रतिशतसम्म मूल्य वृद्धि, विपन्नलाई घर चलाउनै धौ–धौ

Nada
विष्णु पोखरेल
२०८३ वैशाख १० गते ०६:३५
Shares
एक महिनामै अकासियो बजारभाउ

काठमाडौं : बितेको एक महिनामा दैनिक उपभोग्य वस्तुको बजार भाउ अकासिएको छ । सबैजसो वस्तुको मूल्यमा उछाल आएको हो । इन्धनमा भएको अभाव र मूल्यवृद्धिलाई देखाएर मूल्य बढाउँदा सर्वसाधारणको भान्सा महँगिएको हो । 

ncell

एक महिनामै खाद्यवस्तुमा ६० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । महँगीले खाद्यवस्तु, तरकारी, फलफूलदेखि निर्माण सामाग्रीको भाउ छोइनसक्नु भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानीदेखि उत्पादनसम्मको सम्पूर्ण आपूर्ति शृंखला प्रभावित छ । इन्धन महँगिदा ट्रक, बस, भ्यान तथा हवाई सेवाको सञ्चालन खर्च बढेको छ । त्यसैको असर उपभोक्ताको भान्सादेखि दैनिक जनजीवनमा परिरहेको छ । 

नयाँ सरकार गठनसँगै बजार भाउ उकालो लागेको हो । यसको मुख्य कारण मध्यपूर्व युद्ध भएको प्रस्टीकरणबाहेक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले ठोस योजना ल्याएको छैन । हरेक साता दुई वा तीनपटकसम्म मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । तर, मूल्यवृद्धि नियन्त्रणको कुनै एजेन्डा पेस भएको छैन । 

बजारमा अहिले खानेतेल, दाल, चामल, मसलालगायत आधारभूत वस्तुको मूल्य उल्लेख्य रूपमा बढेको छ । भटमास, सनफ्लावर र तोरीको तेलको मूल्य दोब्बर नजिक पुगेको छ भने मास, मुसुरो, रहर र मुङ दालमा पनि ठूलो मूल्यवृद्धि देखिएको छ । 

भान्सामा कति बढ्यो भाउ ?

अहिले आममानिसलाई सबैभन्दा बढी तनाव भान्साको महँगीले दिएको छ । भान्सामा खाने तेलतर्फ हेर्दा, मूल्यवृद्धि सबैभन्दा तीव्र देखिन्छ । भुटेको तोरीको तेल प्रतिलिटर २२० रुपैयाँबाट बढेर ३५० रुपैयाँ पुगेको छ । काँचो तोरीको तेल २४० बाट बढेर ३ सय ६० रुपैयाँ पुगेको छ भने भटमास तेल २२० बाट बढेर २९० रुपैयाँ पुगेको छ । यस्तै दालजन्य वस्तुहरूमा पनि उस्तै अवस्था छ । चामलमा सामान्य सोना मन्सुली ३६ रुपैयाँबाट बढेर ९५ पुगेको छ भने उसिनेको जिरा मसिनो १५ रुपैयाँ बढेर १ सय २ रुपैयाँ पुगेको छ ।

यसैगरी बासमती चामल २५ रुपैयाँ बढेर १ सय ८५ रुपैयाँ पुगेको छ । यस्तै, मकै, गहुँ, सुजी, आटा, मैदालगायत सबै खाद्यवस्तुमा १५ देखि ३० रुपैयाँसम्म मूल्य बढेको छ । मुसुरो दालको भाउ १ सय ८५ रुपैयाँ पुगेको छ । यस्तै, मास २३०, अरहर २२५ रुपैयाँ पुगेको छ । दलहनमा समग्रमा २५ देखि एकसय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । तेलको मूल्य पनि १५ रुपैयाँदेखि ८० रुपैयाँसम्म बढेको छ । यस्तै, तरकारी, फलफूलदेखि मरमसला सबैमा भाउ तीव्र रूपमा बढेको देखिन्छ । यसैगरी जिरा प्रतिकेजी ५० र धनियाँ ७० रुपैयाँले बढेको छ । 

पछिल्लो एक महिनाको अवधिमा तरकारीको भाउ झन्डै दुई सय प्रतिशतसम्म महँगिएको छ । सबैभन्दा महँगो टाटेसिमी छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ चैतमा औसत ३७ रुपैयाँ प्रतिकेजी थोक (होलसेल) मूल्य रहेको टाटेसिमी सोमबार ११० रुपैयाँमा बिक्री भयो । त्यस्तै, काउली, फर्सी, बरेलालगायतको भाउ दोब्बरले बढेको छ ।

कालीमाटी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले नियमित परिमाणमै तरकारी आपूर्ति भइरहेको तर ढुवानी लागतमा भएको वृद्धिले भाउ बढेको बताए । ‘दैनिक औसत आवागमन सात सय टन हो, अहिले सोही परिमाणबराबरको तरकारी आयात भइरहेको छ,’ उनले भने, ‘ढुवानी लागतले केही असर गरेको देखिन्छ । ढुवानी भाडा बढेपछि स्वाभाविक रूपमा उपभोक्ता मूल्य केही बढेको छ ।’

पछिल्लो समय बढेको महँगीको विषयमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्राचार्य भने बजारमा हल्ला चलेजस्तो अवस्था नरहेको टिप्पणी गर्छन् । उनले मध्यान्हसँग भने, ‘इन्धनका कारण बजार भाउमा वृद्धि भएको छ । केही सामानमा मूल्य बढेको साँचो हो । तर खत्तमै भयो भन्ने किसिमले बजारमा जुन हल्ला चलेको छ, त्यस्तो पनि होइन । कतिपय सामानको भाउ नर्मल नै छ ।’ 

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने महँगीको अवस्था भयावह भएको टिप्पणी गर्छन् । डिजेल/पेट्रोलको भाउ बढेको बहानामा अस्वाभाविक रूपमा भाउ बढाइएको उल्लेख गर्दै उनी भन्छन्, ‘निम्न आय भएका मानिसलाई दैनिक गुजारा चलाउनै गाह्रो भयो । यस्तो अवस्थामा सरकार के हेरेर बसेको छ ? सरकारले उपभोक्ताका पक्षमा तत्कालै हस्तक्षेप गर्नुपर्छ ।’

नुनदेखि सुनसम्म, कन्डमदेखि पानीसम्म महँगियो 

मध्यपूर्वमा जारी युद्ध र त्यसबाट उत्पन्न इन्धन संकटका कारण नेपालमा देखिएको महँगी अब भान्सामा मात्र सीमित रहेन । यसको प्रभाव नुनदेखि सुनसम्मै फैलिएको छ । दैनिक उपभोग्य वस्तुहरू मात्र नभएर निर्माण सामग्री, यातायात खर्च र सेवा क्षेत्रसम्म सबैको मूल्य निरन्तर बढिरहेको छ । बजारमा उपभोग्य वस्तु मात्र होइन, औषधि, सौन्दर्य सामग्री, व्यक्तिगत स्वास्थ्यका सामग्रीदेखि परिवार नियोजनको अस्थायी साधन कन्डमजस्ता भाउ बढेको छ ।

त्यस्तै, विकास निर्माणका कामहरू–सडक, भवन, पुल तथा अन्य पूर्वाधार परियोजनामा प्रयोग हुने सिमेन्ट, डन्डी, इन्धन र ढुवानी लागत बढेसँगै कुल लागत पनि चर्किएको छ । सुनजस्ता बहुमूल्य धातुको मूल्यसमेत अन्तर्राष्ट्रिय बजारसँगै उकालो लाग्दा महँगीको प्रभाव सबै तहमा फैलिएको स्पष्ट देखिन्छ । यसरी हेर्दा अहिलेको महँगी केवल भान्साको समस्या मात्र नभई नुनदेखि सुनसम्म, उपभोग्य वस्तुदेखि विकास निर्माणसम्म सबै क्षेत्रमा गहिरो असर पार्ने व्यापक आर्थिक चुनौती बनेको छ ।

प्रस्तुत मूल्यसूची वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चैत महिनाको मूल्यसूची प्रतिवेदन र नेपाल खुद्रा व्यपार संघले वैशाख ९ गतेका लागि तोकेको मूल्यसूचीबाट औसत मूल्य लिइएको हो ।

uae

सम्बन्धित खबर