
काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले पत्रकारिता क्षेत्रबाट कसैकोपनि मानमर्दन नहोस् भन्ने विषयमा काउन्सिल चनाखो रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालमा एजुकेशनल कन्सल्टेन्सीबाट प्रवाह हुने सेवा मिडियाबाट आउने गरेका विषयवस्तु एवं आचारसंहिता र उजुरी प्रक्रियाबारे कन्सल्टेन्सीसम्बद्ध संस्था एवं कन्सल्टेन्सीका सञ्चालकसँगको अन्तरक्रिया कार्यक्रममा उनले पत्रकार आचारसंहिता पूर्ण पालना गराउनु सबैको दायित्व भएको बताए ।
काउन्सिलले स्व–अनुगमनलाई थप मजबुत बनाउने बताउँदै उनले सबैको सहकार्य र समन्वयमा मात्र स्वच्छ र मर्यादित पत्रकारिताको अभ्यास हुने बताए ।
यस्तै कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले पत्रकारहरुको क्षमता अभिवृद्धिमा सबैको सहकार्य आवश्यक भएको जोड दिए ।
यस्तै काउन्सिलका बोर्ड सदस्य शन्तराम बिडारीले पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउन सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा सहभागीहरुले व्यवसायिक रुपमा चलेका सञ्चार माध्यमबाट यस क्षेत्रका विषयबस्तुहरु प्रभावकारी रुपमा सम्प्रेषण भइरहेकोप्रति धन्यवाद व्यक्त गरेका छन् । तर पछिल्लो समय डिजिटल प्रविधिको विकाससँगै सञ्चालन भएका अनलाइन सञ्चार माध्यम मध्य केही अनलाइनबाट गलत तरिकाले समाचार सामग्री सम्प्रेषण हुँदा आफुहरु पीडित भएको बताएका थिए ।
कतिपय सञ्चारमाध्यले तथ्यगत पुष्ट्याइँ बेगरका सामग्री सम्प्रेषण हुने, एकपक्षीय सामग्री सम्प्रेषण हुने सम्बद्ध निकाय÷पदाधिकारीसँग कुराकानी नगरी सन्तुलनरहित सामग्री सम्प्रेषण हुने समस्याले व्यवसायिक मानमार्दन हुने गरेको गुनासो गरेका थिए । पछिल्ला दिनमा राजनीतिक दलको आवरणमा समेत मिडियाले दुःख दिने गरेको उनीहरुको भनाइ छ । विज्ञापनको नाममा बार्गेनिङ गर्ने र विज्ञापन नदिए नकारात्मक समाचार प्रकाशन गर्ने धम्कीको प्रमाणसमेत आफूहरुसँग सुरक्षित रहेको उनीहरुको गुनासो छ ।
कार्यक्रममा सहभागीहरुले आधार/प्रमाणबेगर सामग्री सम्प्रेषण गर्दा पुगेको क्षती कसले पूर्ति गर्ने भन्ने विषय समेत उठाएका थिए । यस्तै बार्गेनिङ गर्ने र बिना आधार चरित्र हत्या गर्ने सञ्चार माध्यमहरुको कारबाहीलाई अझै प्रभावकारी र कानुन नै बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सञ्चार माध्यमलाई सही सूचना सम्प्रेषण गर्ने व्यवस्था गर्न र आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भए काउन्सिलमा उजुरी दिन आग्रह गरे । कार्यक्रममा काउन्सिलका आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाई महाशाखाका प्रमुख रामशरण बोहराले काउन्सिलको उजुरी सुनुवाइ प्रक्रिया र काउन्सिलका काम कारवाहीबारे जानकारी गराएका थिए ।
कार्यक्रमको सहजीकरण मिडिया अनुगमनकर्ता प्रकाश शर्माले गरेका थिए ।