
काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालले सरकारले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीले उक्त निर्णय प्रेस स्वतन्त्रतामाथि ठाडो आक्रमण भएको ठहर गर्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सरकारी सूचना प्रकाशन र प्रसारण सरकारी सञ्चारमाध्यमबाट मात्र गर्ने भन्दै जारी परिपत्रप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । यसले संघीय मन्त्रालय, आयोग, सचिवालयदेखि प्रदेश र स्थानीय तहसम्म प्रभाव पार्ने भन्दै निर्णयले निजी सञ्चार क्षेत्रलाई कमजोर बनाउने उद्देश्य बोकेको आरोप लगाइएको छ ।
जसपा नेपालका अनुसार लोकतन्त्रको महत्वपूर्ण स्तम्भका रूपमा रहेका निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा दबाबमा पार्ने प्रयासले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमा प्रत्यक्ष असर पार्नेछ । सरकारी विज्ञापनबाट वञ्चित गराउने निर्णय स्वतन्त्र पत्रकारितालाई नियन्त्रणमा राख्ने प्रयास भएको र यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको पार्टीको भनाइ रहेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा आर्थिक संकट झेलिरहेका निजी सञ्चारमाध्यममाथि यस्तो निर्णयले थप असर पार्ने, सञ्चार संस्था बन्द हुने तथा पत्रकारहरूको रोजगारी गुम्ने जोखिम बढ्ने उल्लेख गरिएको छ ।
साथै, प्रेस सेन्सरशिपको अवस्था सिर्जना भई आवाजविहीनको आवाज बनेको स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पर्ने चेतावनी पनि दिइएको छ । पार्टीले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ । साथै, प्रेसमैत्री नीति अवलम्बन गर्न र सञ्चार क्षेत्रलाई सुदृढ बनाउनेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।