
ललितपुर : राज्यका सेवा सुविधा सबै नागरिकसम्म सहज रूपमा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरु गरेको घरदैलोमै नागरिकता वितरण अभियानले सेवाग्राहीमा नयाँ आशा र उत्साह थपेको छ । विशेष गरी जेष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूका लागि लक्षित यो पहलले ‘सरकार जनताकै घरमा’ भन्ने अनुभूति दिलाएको छ ।
जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थाका नागरिकलाई लक्षित गर्दै सुरु गरिएको यस अभियानअन्तर्गत प्रशासनिक टोली आफैं सेवाग्राहीको घरमा पुगेर नागरिकता प्रदान गर्न थालेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सेवा लिन असमर्थ जेष्ठ तथा अशक्त नागरिकलाई सहजता दिन यो कार्यक्रम अघि बढाइएको हो ।
यसैक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेल र प्रशासकीय अधिकृत गणेश विक्रम शाहको नेतृत्वमा गएको टोलीले ललितपुर महानगरपालिका–१५ का ५१ वर्षीय देवीप्रसाद अधिकारी र वडा नं. २२ की ९६ वर्षीया माया तामाङलाई उनीहरूको घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ढुंगेलले प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई सेवा दिनु राज्यको दायित्व भएको उल्लेख गर्दै भनिन्, ‘हामीले नागरिकलाई दुःख नदिइ सेवा पुर्याउने सोचका साथ घरदैलोमै पुगेर नागरिकता वितरण सुरु गरेका छौं । यसले धेरैलाई राहत मिलेको छ ।’
उनका अनुसार, प्रशासन कार्यालयमा आउन असमर्थ नागरिकहरूलाई पहिचान गरी आवश्यक कागजात प्रमाणीकरणसहित घरमै सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइएको छ ।
नागरिकता प्राप्त गरेपछि ९६ वर्षीया माया तामाङ भावुक हुँदै प्रशासनप्रति आभार व्यक्त गरिन् । ‘यो उमेरमा कार्यालय धाउन सम्भव थिएन । घरमै आएर सेवा दिनुभयो, धेरै खुसी लागेको छ,’उनले भनिन् ।
त्यस्तै, देवीप्रसाद अधिकारीको परिवारले पनि प्रशासनको यो पहलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउन आग्रह गरे ।
प्रशासकीय अधिकृत शाहका अनुसार अधिकारीलाई कार्यालयसम्म ल्याउन नसक्ने अवस्था रहेको जानकारी पाएपछि टोली नै घरमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको हो ।
‘नागरिकता आधारभूत अधिकार हो। यसबाट कोही पनि वञ्चित हुनु हुँदैन भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।
यस अभियानले ग्रामीण तथा पहुँच बाहिर रहेका नागरिकलाई विशेष लाभ पुर्याउने अपेक्षा गरिएको छ । सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेका नागरिकका लागि यस्तो पहल उदाहरणीय बन्न थालेको छ ।
सरकारको सेवा प्रवाहलाई अझ मानवीय, सरल र पहुँचयोग्य बनाउने दिशामा ललितपुर प्रशासनले थालेको यो प्रयास अन्य जिल्लाका लागि पनि अनुकरणीय बन्न सक्ने देखिन्छ ।