
दोहा, कतार : कतारमा रहेका केही देश र क्लब सहभागी रहने गरी सञ्चालनमा आएको वर्कर्स फुटबल कपमा नेपालले जित निकालेको छ । शुक्रबार अल अरबी स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा नेपाल साउथ अफ्रिकासँग ४–३ गोलले जित हात पारे पनि नेपाल प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ ।
कतार सरकारको खेलकुद तथा युवा मन्त्रालय अन्तर्गतको कतार स्पोर्ट्स फर अल फेडरेसनले वर्कर्स सपोर्ट न्ण्ड इन्स्योरेन्स फन्ड तथा राष्ट्रिय मानव अधिकार समितिको सहकार्यमा आयोजना गरेको वर्कर्स फुटबल कपको तेस्रो खेलमा नेपाली टिम अर्जुन सुब्बाको कप्तानीमा मैदान प्रवेश गरेको थियो ।
खेलको पहिलो आठौं मिनेटमा कप्तान सुब्बाले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालका लागि दोस्रो गोल खेलको ११औं मिनेटमा सुजन नेम्बाङले गरे । खेलको १६ मिनेटमा साउथ अफ्रिकाले एक गोल फर्काएको थियो भने त्यसको २ मिनेटमै पुनः अर्को गोल थप्दै खेल बराबरीमा ल्यायो । पहिलो हाफ बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको केही मिनेटमै अफ्रिकाले गोल गर्दै खेलमा अग्रता लियो । खेलको दोस्रो हाफमा नेपालका लागि टेक बहादुर गुरुङ र सागर राईले गोल गर्दै ४–३ ले खेल आफ्नो पक्षमा पारे ।

लिग सिस्टममा खेलाइएको खेलमा नेपालले पहिलो खेल आयोजक वर्कर्स सपोर्ट एन्ड इन्स्योरेन्स फन्डसँग पराजय भोगेको थियो भने दोस्रो खेल सोमालियासँग बराबरीमा रोकिएको थियो । अंक तालिकामा तेस्रो स्थानमा परेसँगै नेपालको आगामी यात्रा रोकिएको प्रशिक्षक मुनाल गुरुङले बताए ।
कतारमा स्थापित विभिन्न नेपाली क्लबहरूमा आबद्ध भई फुटबल खेलिरहेका खेलाडीहरूमध्ये उत्कृष्ट खेलाडी छनोट गरी एनआरएनए एनसिसी कतारले नेपाली फुटबल टिम निर्माण गरी प्रतिस्पर्धामा सहभागी भएको एनसिसी कतारका खेलकुद संयोजक राजन चापागाईंले बताए ।

छिट्टै कतारमा एनआरएनए कप आयोजना हुने अपेक्षा खेलाडीहरूले गरेका छन् । यस विषयमा आफूहरू सकारात्मक रहेको र खेलकुदलाई उच्च प्राथमिकता दिइने एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले मध्यान्ह दैनिकलाई जानकारी दिए । खेलाडीको हौसला बढाउन मैदानमा पुगेका पन्थीले नेपाली टिमको खेलबाट आफू खुसी रहेको बताए ।
नेपालको समर्थनका लागि नेपाली समाज कतारका अगुवा, बुद्धिजीवी तथा खेलप्रेमी सयौं नेपालीहरू स्टेडियमसम्म पुगेका थिए ।