
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट रंगशालासहित आफ्नो जग्गा प्रयोग गरिरहेका निकायलाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिएपछि नेपाली क्रिकेट पूर्वाधारको भविष्य अन्योलमा परेको छ ।
त्रिविले वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित तथा सम्झौता अवधि सकिन लागेको जग्गा फिर्ता ल्याउने अभियान थालेको हो । सोही अन्तर्गत क्रिकेट रंगशालासमेत परेको छ, जुन हाल नेपाल क्रिकेट संघ (क्यान)को प्रयोगमा छ । विश्वविद्यालयले क्यानलाई समेत औपचारिक पत्र पठाउँदै तोकिएको समयभित्र मैदान खाली गर्न भनेको बताइएको छ ।
त्रिवि स्रोतका अनुसार क्यानसँगको सम्झौता यही वैशाख मसान्तमा समाप्त हुँदैछ र यसपटक नवीकरण गर्ने पक्षमा विश्वविद्यालय देखिँदैन । खेल गतिविधिका कारण लामो समयसम्म अध्ययन–अनुसन्धान प्रभावित भएको गुनासो आएका कारण क्यानसँगको सम्झौता नवीकरण नगर्ने त्रिविको तयारी छ ।
कीर्तिपुरस्थित उक्त मैदान नेपाली क्रिकेटको मुख्य केन्द्रका रूपमा रहँदै आएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितादेखि घरेलु खेलसम्म यही मैदानमा सञ्चालन हुँदै आएका छन् । तर अब मैदान खाली गराउनुपर्ने निर्णयले आगामी खेल तालिका र पूर्वाधार व्यवस्थापनमा चुनौती थपिएको छ ।
यता, क्यानले भने सम्झौता अवधि थपका लागि पहल अघि बढाएको छ । संघको बोर्ड बैठकले राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारसँग सम्झौता नवीकरण गर्न अनुरोध गर्ने निर्णय गरिसकेको छ । साथै, हाल परिषद्को मातहतमा रहेको मुलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न समेत पहल गर्ने तयारी गरिएको छ ।
सरकारले यसअघि त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रूपमा विकास गर्ने गुरुयोजना स्वीकृत गरिसकेको थियो । करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त योजना कार्यान्वयनको चरणमा जान नपाउँदै अहिलेको विवादले प्रक्रिया थप जटिल बनेको देखिन्छ ।
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन २०८१ ले कीर्तिपुर क्षेत्रमा मात्र करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको औंल्याएको छ । सोही प्रतिवेदनका आधारमा विश्वविद्यालयले जग्गा फिर्ता ल्याउने अभियान अघि बढाएको जनाएको छ ।
क्रिकेट रंगशालाको भविष्यबारे स्पष्ट निर्णय नआएसम्म नेपाली क्रिकेटको संरचना, प्रतियोगिता सञ्चालन र दीर्घकालीन पूर्वाधार विकास नै प्रभावित हुने देखिएको छ ।