
काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहटाइने स्पष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त मैदान र त्यहाँका संरचना जोगाइने बताएका हुन् ।
मन्त्री पोखरेलका अनुसार मैदान खाली गराउने सरकारको कुनै योजना छैन । लिज अवधि सकिएकाले अब नयाँ ढाँचामा सम्झौता गर्ने तयारी भइरहेको उनले जानकारी दिए । यस सम्बन्धमा त्रिविका उपकुलपतिसहितका पदाधिकारीसँग छलफल भइसकेको र वार्ता सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ ।
राज्यको ठुलो लगानी रहेको पूर्वाधार भएकाले यसलाई हटाउने सम्भावना नरहेको पनि उनले दोहोर्याए । साथै, सरकारले ३० दिनभित्र गर्ने लक्ष्य राखेका कामहरूको समीक्षा भइरहेको र तीमध्ये अधिकांश कार्य अगाडि बढिसकेको उनले बताए । आगामी १०० दिनका प्राथमिकतामा केन्द्रित भएर काम भइरहेको समेत उनले उल्लेख गरे ।
यसअघि त्रिवि प्रशासनले परिसरभित्र रहेका संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरेपछि मैदानको भविष्यबारे अन्योल देखिएको थियो । तर सरकारको पछिल्लो धारणा सार्वजनिक भएसँगै क्रिकेट मैदान यथास्थितिमा रहने संकेत देखिएको छ ।