
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानविरुद्ध ठुलो हार व्यहोरेको छ । वर्षाका कारण अवरुद्ध बनेको खेलमा डकवर्थ–लुइस (डिएल) पद्धति लागू हुँदा नेपाल १०२ रनले पराजित भएको हो ।
३०६ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपाल ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रनमा पुगेका बेला वर्षा सुरु भई खेल पुनः सञ्चालन हुन नसक्दा नतिजा डिएलमार्फत टुंगिएको हो ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ६२ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ६० रन जोडे । तर अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपाल दबाबमा परेको थियो ।
ओपनर कुशल भुर्तेल मात्र १ रनमा आउट भए भने आसिफ शेखले १९ रन जोडे । भीम सार्कीले २८ रन बनाए पनि ठुलो इनिङ खेल्न सकेनन् । कप्तान रोहित पौडेल १० रनमै आउट हुँदा मध्यक्रम धराशायी बन्यो । बसिर अहमद १ र आरिफ शेख १४ रनमा पभेलियन फर्किए । अन्त्यतिर गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहँदा खेल रोकिएको थियो ।
नेपालको सुरुवात निकै कमजोर रह्यो । दोस्रो ओभरमै पहिलो विकेट गुमाएको टोलीले पावरप्लेमै दुई विकेट गुमाएर दबाब निम्त्यायो । त्यसपछि पनि कुनै उल्लेखनीय साझेदारी बन्न सकेन । नियमित अन्तरालमा विकेट गुमाउँदा लक्ष्यतर्फको यात्रा कठिन बन्दै गयो । दीपेन्द्रले उत्कृष्ट पारी खेले पनि अरूले साथ नदिँदा हार टार्न सकेनन् ।
बलिङतर्फ ओमानका नदीम खानले ३ विकेट लिँदै नेपाललाई दबाबमा राखे । शकील अहमदले २ विकेट लिए भने वासिम अली र इमरान मोहम्मदले समान एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल तयार पारेको थियो । ओमानका कप्तान जतिन्दर सिंहले उत्कृष्ट शतक प्रहार गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए । उनले ९६ बलमा १५ चौका र ५ छक्का सहित १३० रनको आकर्षक पारी खेले । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट प्रदर्शन हो ।
ओमानले सुरुवातदेखि नै आक्रामक खेल देखाएको थियो । ओपनरद्वय जतिन्दर सिंह र आशिष ओडेडाराले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै बलियो आधार तयार पारे । आशिष २३ रनमा आउट भए पनि त्यसपछि पनि ओमानको रनगति घटेन । हम्माद मिर्जाले ३० रन जोडे भने आर्यन बिष्टले ३५ रनको योगदान दिए । जितेन रामानन्दीले ४३ रन बनाउँदै टोलीलाई ३०० पार गराउन महत्त्वपूर्ण भूमिका खेले ।
नेपालका बलरहरू सुरुवाती ओभरमा प्रभावकारी देखिन सकेनन् । यद्यपि अन्तिमतिर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले किफायती बलिङ गर्दै १० ओभरमा २४ रन मात्र दिएर २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले पनि २ विकेट झारे ।
यस जितसँगै ओमानले लिग–२ मा आफ्नो १४औं जित दर्ता गर्दै ३१ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । नेपाल भने १४औं हार व्यहोर्दै १४ अंकसहित सातौं स्थानमा यथावत छ ।
नेपालले अब आफ्नो अर्को खेल शुक्रबार युएईसँग खेल्नेछ भने त्यसपछि मंगलबार पुनः ओमानसँग प्रतिस्पर्धा गर्ने छ ।