
मकवानपुर : नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारू मगरले नेपाली पत्रकारिताले नयाँ पुस्ता (जेनजी) को आन्दोलन र उनीहरूले चाहेको परिवर्तनको मर्मलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा तथा पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर शाखाको सहकार्यमा कुलेखानीमा सम्पन्न ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष मगरले समाजको ऐनाका रूपमा रहेको पत्रकारिता जगतले युवा पुस्ताको आकांक्षा र बदलिँदो सामाजिक चेतलाई सम्बोधन गर्न नसके सञ्चार क्षेत्र पछि पर्न सक्ने उल्लेख गरे ।
उनले भने, ‘आजको पत्रकारिताले जेनजी आन्दोलन र त्यसले दिएको परिवर्तनको भावनालाई बुझेर काम गर्न आवश्यक छ ।’
उनले समाज परिवर्तनमा पत्रकारहरूको पनि महत्वपूर्ण भूमिका रहने भन्दै पत्रकारिता कमजोर भए लोकतन्त्र पनि कमजोर हुने चेतावनी दिए । व्यावसायिक मर्यादा र जिम्मेवारीमा अडिग रहनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख पदम ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वैशाख १६ र १७ गते सञ्चालन भएको तालिममा शिव पुरी र अजय शर्माले एआईको प्रयोग, कन्टेन्ट क्रिएसन, प्रम्प्ट इन्जिनियरिङ तथा अडियो–भिडियो जेनेरेसनका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा ४० जना पत्रकार सहभागी थिए ।