२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

पालिकास्तरमै मानव अधिकार उल्लंघनको तथ्यांक संकलन गर्न आग्रह

Nada
दीपकप्रसाद घिमिरे
२०८३ वैशाख १८ गते २१:०९
Shares
पालिकास्तरमै मानव अधिकार उल्लंघनको तथ्यांक संकलन गर्न आग्रह

ललितपुर : मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको तथ्यांक हरेक स्थानीय तहबाटै व्यवस्थित रूपमा संकलन गर्नुपर्नेमा जोड दिइएको छ । जावलाखेलमा सुरु भएको ‘युवा मानव अधिकार रक्षक सम्मेलन’मा वक्ताहरूले स्थानीय स्तरमै तथ्य र प्रमाण संकलन सुदृढ बनाउन आवश्यक रहेको बताएका हुन् । 

ncell

‘मानव अधिकार संरक्षणका लागि अभियन्ताका रूपमा युवा’भन्ने नारासहित सुरु भएको सम्मेलनमा डा.लिली थापाले मानव अधिकार उल्लंघनका घटनाको वास्तविकता उजागर गर्न स्थानीय तहको सक्रियता अनिवार्य रहेको बताइन् ।

उनले ०८२ भदौ २३ र २४ गतेका घटनासम्बन्धी तयार गरिएको विस्तृत प्रतिवेदन सार्वजनिक नभएकोप्रति चिन्ता व्यक्त गर्दै जवाफदेहिताको माग गरिन् । 

उनले आयोगबाटै प्रतिवेदनको अन्तरवस्तु संक्षेपमा सीमित पार्न खोजिएको भन्दै युवाहरू र नागरिक समाजले खबरदारी गर्नुपर्ने उल्लेख गरिन् । साथै आयोगका सिफारिसहरू कार्यान्वयन नगरेको विषयमा सरकारसँग प्रश्न उठाउनुपर्नेमा समेत उनले जोड दिइन् । 

सम्मेलनमा सुशील प्याकुरेलले मानव अधिकार र लोकतान्त्रिक आन्दोलनमा युवाको ऐतिहासिक भूमिकाको स्मरण गर्दै आगामी दिनमा पनि परिवर्तनका लागि युवाको सक्रियता आवश्यक रहेको बताए। उनले प्रतिवेदनहरू नागरिकले जस्ताको तस्तै अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न माग गरे ।

कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले ७७ वटै जिल्लाबाट सहभागी युवाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै मानव अधिकारका मुद्दामा निरन्तर पैरवी गर्नुपर्ने बताए ।

त्यस्तै, राष्ट्रिय युवा परिषद् नेपाल का कार्यकारी प्रमुख गेहनाथ गौतमले वर्तमान राजनीतिक संरचनामा युवाको सहभागिता बढेको उल्लेख गर्दै युवामैत्री नीति र अभ्यासको अपेक्षा व्यक्त गरे । 

विभिन्न संस्थाका प्रतिनिधिहरूले डिजिटल अधिकार, जलवायु न्याय, सामाजिक न्याय तथा कानुनी चुनौतीहरूबारे धारणा राख्दै मानव अधिकार संरक्षणमा युवाहरूको नेतृत्व अपरिहार्य भएको बताएका थिए ।

वैशाख १८ र १९ गते सञ्चालन हुने उक्त सम्मेलन इन्सेक, रोयम नेपाल, डिजिटल राइट्स नेपाल, भिजिबल इम्प्याक्ट र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त आयोजनामा भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर