२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

ट्राफिक प्रहरीका लागि प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रम

Nada
रामहरि कार्की
२०८३ वैशाख २१ गते २१:३७
Shares
ट्राफिक प्रहरीका लागि प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रम

ललितपुर : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले ट्राफिक प्रहरीहरूलाई लक्षित गर्दै प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्याको न्यूनीकरण सम्बन्धी तीनदिने कार्यक्रम सम्पन्न गरेको छ ।

ncell

वैशाख १८ गतेदेखि सुरु भएको उक्त कार्यक्रम वैशाख २० गते सम्पन्न भएको थियो । बढ्दो वायु प्रदूषणका कारण ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने तथा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको चिकित्सालयले जनाएको छ ।

कार्यक्रममा ४० जना ट्राफिक प्रहरीहरुको सक्रिय सहभागिता रहेको जानकारी चिकित्सालयकी डा. पुनम नेपालले दिइन् । तीन दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूलाई योग तथा प्राणायाम सम्बन्धी प्रशिक्षण दिइएको थियो । नियमित योग र प्राणायाम अभ्यासले श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाउने र प्रदूषणका कारण हुने विभिन्न स्वास्थ्य समस्याबाट बच्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यसका साथै कार्यक्रममा आयुर्वेदिक पद्धतिमा आधारित ‘जलनेती’ विधिको प्रयोगात्मक अभ्यास गराइएको थियो । जलनेती विधिअन्तर्गत नुन मिसाइएको मनतातो पानी एक नाकको प्वालबाट हालेर अर्को नाकको प्वालबाट निकाल्ने प्रक्रिया सिकाइएको थियो । चिकित्सकका अनुसार यसको नियमित अभ्यासले नाक र श्वासप्रश्वास मार्ग सफा राख्न मद्दत गर्नुका साथै धुलो–धुवाँका कारण हुने असर कम गर्न सहयोग पुर्‍याउँछ ।

त्यसैगरी कार्यक्रममा ‘नस्य कर्म’ सम्बन्धी जानकारी तथा अभ्यास पनि गराइएको थियो । नस्य कर्मले पिनास, टाउको दुखाइ, माइग्रेन लगायतका समस्यामा राहत दिने र समग्र श्वासप्रश्वास स्वास्थ्य सुधार गर्न मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ ।

दैनिक रूपमा धुलो, धुवाँ र विभिन्न किसिमका प्रदूषणको उच्च जोखिममा रहने ट्राफिक प्रहरीहरुलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो कार्यक्रमले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । चिकित्सालयले आगामी दिनमा समेत यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित खबर