२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

घर–घरमै स्वास्थ्य सेवा विस्तारको प्रस्ताव लिएर अन्तर्राष्ट्रिय मञ्चमा डा. विशाल ढकाल

Nada
२०८३ वैशाख २३ गते १७:४६
Shares
घर–घरमै स्वास्थ्य सेवा विस्तारको प्रस्ताव लिएर अन्तर्राष्ट्रिय मञ्चमा डा. विशाल ढकाल

काठमाडौं : युवा स्वास्थ्य उद्यमी तथा ‘हेल्थ एट होम’का संस्थापक डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा घर–घरमै स्वास्थ्य सेवा विस्तारको अवधारणा प्रस्तुत गर्दै सार्वजनिक स्वास्थ्य प्रणालीलाई नयाँ ढंगले पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

ncell

रुसको नेशनल सेन्टरले अप्रिल २८ देखि ३० सम्म आयोजना गरेको ‘विश्वको भविष्य : विश्वव्यापी वृद्धिका लागि एक मञ्च’ शीर्षक खुला संवाद कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी भएका ढकाल निबन्ध प्रतियोगितामार्फत छनोट भएका थिए । कार्यक्रममा करिब ५० देशको सहभागिता रहेको थियो भने ४५ देशका प्रतिनिधिले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए । विभिन्न महादेशका विज्ञ, अर्थशास्त्री तथा नीतिनिर्माताहरूको उपस्थिति रहेको उक्त मञ्चलाई विश्वव्यापी नीति बहसको महत्वपूर्ण प्लेटफर्मका रूपमा लिइएको छ ।

कार्यक्रममा मानव पूँजी, प्रविधि, वातावरण र सञ्चारमा लगानीका विषयलाई केन्द्रमा राखेर छलफल गरिएको आयोजकले जनाएको छ । सहभागीहरूले प्रस्तुत गरेका उत्कृष्ट निबन्ध र कार्यपत्रका आधारमा तयार हुने ‘ओपन रिपोर्ट’ आगामी नीतिगत योजना र रणनीतिमा प्रयोग गरिने जनाइएको छ ।

नेपालबाट सहभागी ढकालले सार्वजनिक स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन आवश्यक रहेको उल्लेख गर्दै घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने मोडेल प्रस्तुत गरेका थिए । उनले बढ्दो आयु, जनसंख्यामा देखिएको तीव्र संरचनात्मक परिवर्तन तथा स्वास्थ्य क्षेत्रमा बढ्दो खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आफ्नो कार्यपत्र केन्द्रित गरेका थिए ।

उनका अनुसार राज्यको एक्लो प्रयासले भविष्यका स्वास्थ्य चुनौती धान्न कठिन हुने भएकाले सेवा प्रवाहलाई विकेन्द्रित गर्दै समुदायस्तरमै स्वास्थ्य पहुँच विस्तार गर्नु दीर्घकालीन समाधान हुन सक्छ । ‘घरमै स्वास्थ्य सेवा’ मोडेलमार्फत सेवा पहुँच बढाउन सकिने र यसले स्वास्थ्य प्रणालीमा पर्ने दबाब घटाउन मद्दत पुग्ने उनको भनाइ छ ।

ढकालले आफ्नो स्टार्टअप ‘हेल्थ एट होम’लाई कसरी व्यवस्थित व्यवसायिक ढंगले विस्तार गर्न सकिन्छ र नीतिगत तहमा यसको प्रभाव कसरी बढाउन सकिन्छ भन्ने विषयमा समेत प्रस्तुति दिएका थिए ।

रुसमै चिकित्सा शिक्षा हासिल गरेका उनले आफू अध्ययन गरेको विश्वविद्यालयमा समेत पुगेर आफ्नो अनुभव साटेका थिए । त्यहाँ उनले सिकेको ज्ञान र नेपालमा अभ्यास गरिरहेको मोडेलबीचको सम्बन्धबारे प्रकाश पार्दै स्थानीय आवश्यकताअनुसार नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

जनकपुरमा जन्मिएका ढकालले प्रारम्भिक शिक्षा नेपालमै पूरा गरेका हुन् । त्यसपछि रुसबाट चिकित्सा अध्ययन सम्पन्न गरेका उनले पाकिस्तानको लाहोरमा कार्डियाक सर्जरी अध्ययनकै क्रममा नेपाल फर्केर ‘हेल्थ एट होम’ स्थापना गरेका थिए ।

ढकाल यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय उद्यमशीलता कार्यक्रमहरूमा सहभागी भइसकेका छन् । ३० भन्दा बढी देशको भ्रमण गरिसकेका उनी पाँचभन्दा बढी भाषामा दक्ष छन् ।
उनले स्वास्थ्य सेवा पहुँच विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताउँदै नेपाल नवीन सोच र सम्भावनाको केन्द्र बन्न सक्ने दाबी गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर