
जुम्ला : तातोपानी गाउँपालिका–८ की २१ वर्षीया सानुका रावतलाई भदौ दोस्रो साता सुत्केरी बेथाले च्याप्यो । जुम्लाकै दुर्गम बस्ती सुर्की गाउँकी उनलाई केहीबेरमै ताम्ती स्वास्थ्य चौकी पुर्याइयो । त्यहीँ उनी सुरक्षित रूपमा सुत्केरी भइन् । ‘गाउँनजिकै बर्थिङ सेन्टरमा सुत्केरी हुँदा डर र पीडा भुल्न सकेकी छु,’ उनी भन्छिन्, ‘हामीजस्ता दुर्गमका महिलाका लागि यो सेवा ठुलो वरदान बनेको छ ।’ डिस्चार्ज हुँदा सानुकाले तीन हजार आठ सय रुपैयाँ सुत्केरी प्रोत्साहन भत्ता पनि पाइन् ।
टोप्लाकी पुष्पा शाहीले पनि ताम्ती बर्थिङ सेन्टरमै बच्चा जन्माइन् । सुरुमा उनलाई गाउँको स्वास्थ्य संस्थामा गुणस्तरीय प्रसूति सेवा पाइने हो कि होइन, स्वास्थ्यकर्मी र आवश्यक उपकरण छन् कि छैनन् भन्ने चिन्ता थियो । तर बर्थिङ सेन्टरको सेवा, स्वास्थ्यकर्मीको व्यवहार र आधुनिक उपकरण देखेपछि उनी ढुक्क भइन् । ‘धेरै महिला गाउँको बर्थिङ सेन्टरको भर नमानेर ऋण जोहो गरी सदरमुकाम, सुर्खेत, नेपालगन्ज पुग्छन् । गाउँमै नियमित चेकजाँचदेखि सुत्केरी हुँदा आफ्नो ज्यानसँगै धन पनि जोगियो,’ उनी भन्छिन् ।
सानुका र पुष्पा मात्र होइनन्, तातोपानीका सुर्की, सर्मी, ताम्ती, टोप्ला, डुंग्री, बारागाउँ र गाडापारीलगायत गाउँका सयौं महिलाले गाउँमै गुणस्तरीय सेवा पाएपछि राहत महसुस गरेका छन् । जुम्लाका आठवटै स्थानीय तहका ६० वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । यसले सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउनुपर्ने र महँगो खर्च गर्नुपर्ने बाध्यता कम गरेको छ । ‘अहिले गाउँमै टाउको दुख्या, ज्वरो आया औषधि पाइन्छ, निकै सजिलो भया छ,’ तातोपानी गाउँपालिका–२ की लालकली दमाई भन्छिन्, ‘पहिला यही औषधि ल्याउन दिनभरि हिँडेर ह्यापु पुग्नुपथ्र्यो, अहिले निकै सुबिस्ता भया छ ।’
जुम्लाका विकट स्वास्थ्य संस्थामा समेत आधुनिक उपकरण र दक्ष स्वास्थ्यकर्मीको सहयोगमा सुरक्षित प्रसूति सेवा उपलब्ध हुन थालेपछि महिलाको ज्यान जोगिनुका साथै आर्थिक भार पनि घटेको छ । उल्टै प्रोत्साहन भत्ता लिएर सुत्केरी घर फर्किने गरेका छन् । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई यातायात खर्चबापत तीन हजार रुपैयाँ र आठपटकसम्म गर्भ परीक्षण गरेबापत थप आठ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यस्तो सहुलियतले महिलालाई संस्थागत सुत्केरी हुन प्रोत्साहित गरेको छ ।
हाल जुम्लामा २९ बर्थिङ सेन्टर, ३० स्वास्थ्य चौकी र ६० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । मातृशिशु मृत्युदर शून्यमा झार्ने र संस्थागत सुत्केरी दर बढाउने लक्ष्यमा स्थानीय तहका यी सेवाले योगदान गरिरहेका छन् । चन्दननाथ नगरपालिकामा एक, गुठिचौरमा दुई, हिमामा तीन, पातारासीमा चार, तातोपानीमा चार, सिँजामा चार, तिलामा पाँच र कनकासुन्दरीमा पाँच बर्थिङ सेन्टर सञ्चालनमा छन् ।
एक दशकअघि जुम्लामा सुत्केरी अवस्थाका महिलाले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि यो अवस्थामा सुधार आएको छ । प्रतिष्ठानले उपलब्ध गराएको गुणस्तरीय स्वास्थ्य सेवाले आमा र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याएको छ । आकस्मिक अवस्थामा सरकारले हेलिकोप्टरमार्फत उद्धारको व्यवस्था गरेको छ भने प्रतिष्ठानमा उपलब्ध शल्यक्रिया सेवाले धेरै महिलालाई अकाल मृत्युबाट जोगाएको छ ।
प्रतिष्ठानले सिजेरियन सेक्सन (सिएस) विधिबाट गराउँदै आएको प्रसूति सेवा प्रभावकारी देखिएको छ । जटिल तथा जोखिमयुक्त अवस्थामा हुने सुत्केरीलाई लक्षित गरी गरिने शल्यक्रियाबाट धेरै महिलाको ज्यान जोगिएको छ । दक्ष चिकित्सक टोलीबाट सुरक्षित प्रसूति सेवा उपलब्ध हुँदा ग्रामीण क्षेत्रका महिलाले राहत पाएका छन् ।
प्रतिष्ठानको प्रसूति विभाग प्रमुख सविता खड्काका अनुसार जोखिमयुक्त अवस्थामा शल्यक्रियामार्फत सुरक्षित प्रसूति गराउने काम नियमित भइरहेको छ । सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत आवश्यक औषधि, सेवा र विशेषज्ञ चिकित्सकको उपस्थिति सुनिश्चित गरिएको छ ।
प्रतिष्ठानमा आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म ८३७ जनाको शल्यक्रियामार्फत सुत्केरी गराइएको छ । सो अवधिमा सामान्य सुत्केरी तीन हजार ५३१ र भ्याकुम प्रयोगबाट ४५ जनाको प्रसूति भएको छ । यसरी पाँच वर्षमा प्रतिष्ठानमा चार हजार ४४८ जना महिला सुत्केरी भएका छन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गर्भवती तथा सुत्केरी सेवा, नवजात शिशु स्याहार, घरभेट तथा मातृ र पेरिनेटल मृत्यु निगरानीलगायत कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाले जुम्लाको स्वास्थ्य सूचक सुधार्न योगदान गरेको छ ।
संस्थागत सुत्केरी बढाउन गर्भवतीलाई नियमित जाँच, स्वास्थ्य संस्थामा प्रसूति र सुत्केरीपछिको सेवासँग जोड्ने कार्यक्रम सञ्चालनमा छन् । पोषण सुधारलाई पनि प्राथमिकता दिइएको छ । जनस्वास्थ्य सेवा कार्यालयले परिवारको पोषण लेखाजोखा, बालबालिकाको वृद्धि अनुगमन तथा विद्यालय स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गाउँमै पाठेघरको उपचार
जुम्लाका केही स्थानीय तहले महिलामा देखिने पाठेघर खस्ने समस्याको उपचार पनि गाउँमै उपलब्ध गराएका छन् ।
हिमा गाउँपालिका–४ सिम्तलीकी ४७ वर्षीया नन्दरूपा बुढा करिब नौ वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित थिइन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उनले समयमै उपचार गराउन सकिनन् । गाउँघरमा कसैलाई आफ्नो समस्या भन्नसमेत सकेकी थिइनन् ।
समय बित्दै जाँदा पाठेघरमा संक्रमणको जोखिम बढ्यो । आर्थिक अवस्था र चेतनाको कमीका कारण बाहिर गएर उपचार गराउन डराइरहेकी नन्दरूपाले गाउँमै शल्यक्रिया गर्ने अवसर पाइन् । अहिले उनी स्वस्थ महसुस गर्छिन् । ‘गाउँमै मेरो उपचार होला भन्ने सोचेकी थिइनँ, सहजै उपचार भयो । अहिले पहिलेजस्तो दुखाइ छैन । एक पैसा नतिरेर गाउँमै उपचार गराउन पाउँदा निकै खुसी छु,’ उनी भन्छिन् ।
हिमा–३ की ५७ वर्षीया पुम्फा रोकायाले पनि ६ वर्षदेखि भोग्दै आएको पाठेघर खस्ने समस्याबाट मुक्ति पाएकी छन् । गाउँमै उपचार नहुँदा उनले पनि लामो समय रोग लुकाएकी थिइन् ।
नन्दरूपा र पुम्फाजस्ता ग्रामीण महिलाको समस्यालाई ध्यानमा राखेर हिमा गाउँपालिकाले चार वर्षमा सातभन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ती शिविरबाट हजारौं नागरिकले सेवा पाएका छन् । गाउँपालिकाले हालसम्म १७१ जना महिलाको पाठेघरको क्यान्सरको उपचार निःशुल्क गराएको छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही ग्रामीण क्षेत्रमा बालविवाह र महिलाको कार्यबोझ कायमै रहेकाले पाठेघरसम्बन्धी समस्या देखिने गरेको बताउँछन् । उनका अनुसार दुर्गम गाउँमा विशेषज्ञ सेवा पुग्दा गरिब तथा विपन्न महिलालाई ठुलो राहत भएको छ ।
नेपालमा प्रत्येक वर्ष करिब दुई हजारदेखि २५ सय महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र करिब १३ सयदेखि १५ सय महिलाको यही रोगका कारण मृत्यु हुने तथ्यांक छ । हिमाले विभिन्न रोगको उपचारका लागि हालसम्म १२ वटा शिविर सञ्चालन गरेको छ । ती शिविरबाट करिब १० हजार नागरिकले गाउँमै उपचार पाएका छन् ।
बिरामी बोक्नेलाई भत्ता !
कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये जुम्लाको तातोपानी गाउँपालिकाले स्वास्थ्य सेवामा पहुँच बढाउन एउटा फरक कार्यक्रम ल्याएको छ । गाउँपालिकाले ‘सुत्केरी तथा अन्य बिरामी बोक्नेलाई भत्ता’ वितरण गर्ने कार्यक्रम सुरु गरेको हो । तातोपानीको दुर्गम भेरीखोला क्षेत्रमा लक्ष्यअनुसार संस्थागत सुत्केरी हुन अझै सकेका छैनन् ।
शतप्रतिशत संस्थागत सुत्केरी गराउने लक्ष्यसहित गाउँबाट सुत्केरीलाई बोकेर बर्थिङ सेन्टर पुर्याउने व्यक्तिलाई प्रोत्साहन भत्ता दिने नीति ल्याइएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं बताउँछन् । यसका लागि गाउँपालिकाले कार्यविधि बनाएर कार्यपालिकाबाट स्वीकृत गरिसकेको छ ।
यो निर्णयले स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाउनुका साथै भौगोलिक कठिनाइबीच सेवा गर्ने युवालाई पनि राहत पुग्ने अपेक्षा गरिएको छ । तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार स्वास्थ्य प्रणाली सुधार गरी स्वच्छ पालिका र स्वस्थ नागरिक बनाउने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकालाई हरेक महिना एक दिन घरदैलोमा पठाउने गरिएको छ । उनीहरूसँग प्रत्यक्ष संवाद गर्न मोबाइलसमेत वितरण गरिएको छ ।
जुम्ला अब स्वास्थ्य–शिक्षा हब
दाङकी वर्षा डाँगी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिएस्सी नर्सिङ अध्ययन गर्दै छिन् । चिकित्सा शिक्षा अध्ययनका लागि दाङबाट हिमाली जिल्ला जुम्ला आउने उनी एक्ली विद्यार्थी होइनन् । मधेश प्रदेशको गर्मीमा हुर्किएकी कृति यादव पनि एमबिबिएस अध्ययनका लागि जुम्ला पुगेकी छन् । प्रतिष्ठानको पठनपाठनबाट प्रभावित भएर उनी रौतहटबाट जुम्ला आएकी हुन् ।
पूर्वी झापाकी सृष्टि थापामगर पनि जुम्ला आएर पढ्न पाउँदा उत्साहित छिन् । काठमाडौं वा पोखराको कोलाहलपूर्ण वातावरणभन्दा जुम्ला अध्ययनका लागि उपयुक्त रहेको उनीहरूको भनाइ छ । नवलपरासीका सागर विश्वकर्माको बुझाइ पनि उनीहरूको भन्दा फरक छैन । दुर्गम क्षेत्रमा सेवा गर्ने इच्छासहित उनी जुम्ला आएका हुन् । ‘प्रतिष्ठानबाट डाक्टर बनेर विकट ठाउँमा सेवा गर्न चाहन्छु, यहाँको वातावरणले मलाई आत्मविश्वास दिएको छ’, उनी भन्छन् ।
लमजुङकी कोसिका रानाभाट पनि प्रतिष्ठानमा बिएस्सी नर्सिङ पढ्दै छिन् । प्रतिष्ठानले पछिल्लो समय पठनपाठनमा देशमै उत्कृष्टता हासिल गरिरहेको शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति डबलबहादुर धामी बताउँछन् । ‘विकटमा रहेको यो प्रतिष्ठान अहिले देशभरका विद्यार्थीको रोजाइको केन्द्रविन्दु बनेको छ,’ उनी भन्छन् ।
मधेश प्रदेशको सिरहाकी डाक्टर कविता साह दुई वर्षदेखि प्रतिष्ठानमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत छन् । उनले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई अध्यापनसमेत गराउँदै आएकी छन् । मधेशकी भए पनि उनले कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा स्वास्थ्य सेवा दिँदै आएकी छन् ।
उनका अनुसार अध्ययनका हिसाबले जुम्ला निकै उत्कृष्ट छ । सडक र नियमित हवाई सेवाको सुविधा थप राम्रो भए अध्ययनका लागि यहाँको वातावरण स्वर्गजस्तै हुने उनको भनाइ छ । चिसो हावापानी र प्रदूषणरहित वातावरणले अध्ययनमा सहजता थपेको छ ।
प्रतिष्ठानमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उनीहरूमध्ये अधिकांश कर्णालीबाहिरका छन् । भारतबाट समेत दुई छात्रा र एक छात्र अध्ययनका लागि आएका छन् । दुवै छात्रा जम्मु–कश्मीरका हुन् भने छात्र उत्तर प्रदेशको अल्लाहपुरका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, एमडी–एमएस, एमएचपी, एम–फार्मा, एमएनलगायत चिकित्सासम्बन्धी विषय पढाइ हुन्छन् । चिकित्सा शिक्षा आयोगको निरीक्षणपछि सुरुको वर्ष एमबिबिएसमा २० सिट दिइएको थियो । दोस्रो र तेस्रो ब्याचमा ३०–३० तथा चौथो र पाँचौं ब्याचमा ५०–५० सिट निर्धारण गरिएपछि पाँच ब्याचमा १८० विद्यार्थी अध्ययनरत छन् ।
प्रतिष्ठानमा चारवटा महाविद्यालय स्थापना भएपछि स्कुल अफ मेडिसिन, स्कुल अफ फार्मेसी, स्कुल अफ पब्लिक हेल्थ र स्कुल अफ नर्सिङमा स्नातकोत्तर कार्यक्रमसमेत सुरु गरिएको छ ।
स्कुल अफ मेडिसिनअन्तर्गत सन् २०२१मा एमडिजिपी, पेडियाट्रिक र एनेस्थेसिया विषय सुरु भए । सन् २०२२ मा एमएस अर्थोपेडिक तथा ट्रमा सर्जरी, एमडी मेडिसिन र एमबिबिएस कार्यक्रम अघि बढाइयो । सन् २०२४ मा एमडी जनरल सर्जरी र एमडी एनाटोमी सुरु गरियो । स्कुल अफ पब्लिक हेल्थअन्तर्गत सन् २०२३ मा मास्टर इन पब्लिक हेल्थ (एमएचपी) पढाइ सुरु भएको थियो ।
त्यसैगरी, स्कुल अफ फार्मेसीअन्तर्गत सन् २०२२ मा बिफार्मा र मास्टर इन फर्माकोलोजी तथा सन् २०२४ मा मास्टर इन फर्माकोग्नोसी एन्ड फाइटोकेमेस्ट्री सुरु गरियो । स्कुल अफ नर्सिङअन्तर्गत बिएस्सी नर्सिङ र सन् २०२४ मा मास्टर इन डब्लुएचडी/मेन्टल हेल्थ नर्सिङ, मास्टर इन एडल्ट/मेडिकल सर्जरी नर्सिङ र मास्टर इन पेडियाट्रिक/चाइल्ड हेल्थ नर्सिङ सुरु गरिएको छ ।
यसरी तीनवटा स्कुलअन्तर्गत स्नातकोत्तर तहका ११ विषयमा पाँच सिटबाट सुरु भएको अध्यापन क्षमता बढेर २६ सिट पुगेको छ ।
कर्णाली तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा उपलब्ध गराउने लक्ष्यसहित प्रतिष्ठानले थप योजना अघि बढाएको छ । स्नातक र स्नातकोत्तर तहका कार्यक्रममार्फत विशेषज्ञ जनशक्ति उत्पादनमा जोड दिइएको छ । दैलेखको राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल स्थापना गरी स्थानीय तहमा सेवा विस्तार गर्ने तयारी पनि भइरहेको छ ।
प्रतिष्ठानमा स्वास्थ्य सेवा लिनेको संख्या पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ मा ५३ हजार ७४६ जनाले सेवा लिएका थिए । २०७८/७९ मा यो संख्या ८२ हजार ७७६, २०७९/८० मा एक लाख ११ हजार ४१६ र २०८०/८१ मा एक लाख ४१ हजार ५२० पुगेको थियो । आर्थिक वर्ष २०८१/८२ मा एक लाख ७५ हजारभन्दा बढीले सेवा लिएको प्रतिष्ठानको तथ्यांक छ ।
जलवायु परिवर्तनलाई ध्यानमा राख्दै जलवायु सहनशील स्वास्थ्य प्रणाली निर्माण, स्वास्थ्य पूर्वाधार स्तरोन्नति, प्रयोगशाला र छात्रावास विस्तार तथा हवाई र सडक पहुँच सुधारका योजना पनि अघि सारिएका छन् । अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी, जडीबुटी र हिमाली स्वास्थ्य सेवामा केन्द्रित नयाँ पहलले कर्णालीमा दिगो, पहुँचयोग्य र जनमैत्री स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सूचकमा सुधार, चुनौती कायमै
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट प्राप्त तथ्यांकअनुसार कर्णालीका बालबालिकाको कुपोषणमा उल्लेख्य सुधार आएको छ । सन् २०१६ मा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन ५४.९ प्रतिशत रहेकामा सन् २०२२ मा घटेर ३६.३ प्रतिशतमा झरेको छ । अर्थात् १८.६ प्रतिशत विन्दुले कमी आएको छ । प्रदेशगत तुलना गर्दा सन् २०१६ देखि २०२२ सम्म पुड्कोपन घट्ने दर कर्णालीमा सबैभन्दा बढी देखिएको छ । पाँच वर्षमुनिका बालबालिकामा दुब्लोपन करिब चार प्रतिशत छ ।
सन् २०२२ सम्म पूर्ण खोप पाउने बालबालिकाको संख्या ८४ प्रतिशत थियो । अहिले शतप्रतिशत बालबालिकाले खोप पाइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कर्णालीमा संस्थागत सुत्केरी हुने दरमा पनि सुधार आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ८३ प्रतिशत, २०८०/८१ मा ७२ प्रतिशत र २०८१/८२ मा ८५ प्रतिशत संस्थागत सुत्केरी भएका छन् । पछिल्लो वर्ष ७२ बाट बढेर ८५ प्रतिशत पुगेको यो दर सेवा पहुँच विस्तारको महत्त्वपूर्ण संकेत हो । बर्थिङ सेन्टर, दक्ष स्वास्थ्यकर्मी र मातृ–नवजात सेवा विस्तारले यसमा योगदान गरेको छ ।
सन् २०२२ मा कर्णालीमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा ४६ थियो । आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २६ मा झरेको छ । राष्ट्रिय जनगणना २०७८ तथा सन् २०२१ को मातृमृत्यु प्रतिवेदनअनुसार कर्णालीको मातृमृत्यु अनुपात प्रतिलाख जीवित जन्ममा १७२ छ ।
कर्णालीको स्वास्थ्य क्षेत्र सुधारको बाटोमा रहे पनि नागरिकको पहुँच र सेवा विस्तार अझै पर्याप्त हुन सकेको छैन । चिकित्सकको अभाव, संस्थागत सुत्केरी दरमा उतारचढाव र पोषण सुधारका चुनौती कायमै छन् ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार प्रदेशको १६ लाख ९४ हजार ८८९ जनसंख्याका लागि १८४ चिकित्सकको दरबन्दी रहेकामा १५२ रिक्त छन् । विशेषज्ञ चिकित्सकतर्फ ७० दरबन्दीमध्ये ६० रिक्त छन् । सबै दरबन्दी पूर्ति भएको अवस्थामा पनि नौ हजार दुई सय जनसंख्याबराबर एक चिकित्सक मात्र उपलब्ध हुने अवस्था छ ।