
भक्तपुर : नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिको आयोजनामा ‘सहकारी पत्रकारिता तालिम तथा क्षमता विकास कार्यक्रम’ शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको छ ।
कार्यक्रममा वागमती प्रदेशका १३ जिल्लाबाट ४० जना पत्रकारको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारका अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भए महासंघका १० हजार सदस्यले सिंहदरबार घेर्ने चेतावनी दिए ।
उनले पत्रकारको पेशागत सुरक्षा र समस्या समाधानका लागि महासंघ अझ सशक्त रूपमा प्रस्तुत हुनुपर्ने बताए । वर्तमान सरकारले पत्रकारलाई ‘टेस्ट’ गरिरहेको उल्लेख गर्दै उनले सरकारको विज्ञापन नीतिका कारणले मिडिया हाउसमा प्रभाव देखिने टिप्पणी गरे ।
सरकारको मिडिया विरोधी नीतिको अन्तर्राष्ट्रिय सघ÷संस्थालेसमेत नेपाल पत्रकार महासंघको कदमको साथ दिएको बताए ।
त्यसैगरी केन्द्रीय सदस्य सूर्य सुवेदीले पत्रकारितालाई चिकित्सकको पेशासँग तुलना गर्दै समाजका विकृति र समस्याको पहिचान गरी सत्य सूचना प्रवाह गर्नु पत्रकारको दायित्व भएको बताए ।
पछिल्लो समय ‘बिट पत्रकारिता’को अवधारणा विस्तार भएसँगै सहकारी पत्रकारिताले पनि व्यापकता पाएको उनको भनाइ थियो । कार्यक्रममा ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले सहकारी पत्रकारिता संवेदनशील विषय भएकाले तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे ।
सहकारी क्षेत्रसँग लाखौं नागरिकको आर्थिक सरोकार जोडिएको भन्दै उनले जिम्मेवार पत्रकारितामा जोड दिए । यस्तै फोनिज वागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले महासंघको केन्द्रीय समितिले अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै पत्रकारको हकहित र पेशागत सुरक्षाका विषयमा अझ प्रभावकारी भूमिका आवश्यक रहेको बताए । वागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले तालिम आयोजना गर्नुको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए ।
आयोजकका अनुसार तालिममार्फत सहकारी पत्रकारितासम्बन्धी ज्ञान, खोजमूलक क्षमता तथा पेशागत दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।