रामप्रसाद सुवेदी/मध्यान्ह
हापुरे : नेकपा एमालेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम बबई गाउँपालिकाको हापुरेमा हुने भएको छ । नेकपा एमाले बबई गाउँ कमिटीको सोमबार बसेको पूर्ण बैठकले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम साउन ३० र ३१ गते हापुरेमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको घोराहीमा सम्पन्न प्रशिक्षण कार्यक्रमले १२ जिल्लामा केन्द्रीय कमिटीका पदाधिकारीहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेबमोजिम साउन ३० र ३१ गते दाङमा प्रशिक्षण कार्यक्रम हुने भएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
नेकपा एमाले बबई गाउँ कमिटीले प्रशिक्षण कार्यक्रम सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । गाउँ कमिटीका सचिव डम्बरबहादुर सिरिस मगरको संयोजकत्वमा आर्थिक तथा खाना व्यवस्थापन उपसमिति, क्षेत्रीय सचिव टेकबहादुर वलीको संयोजकत्वमा आवास उपसमिति, उपाध्यक्ष शारदा शाहको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ । आवाससहितको प्रशिक्षण कार्यक्रम हुने गाउँ कमिटीका अध्यक्ष टंकराज विश्वकर्माले जानकारी दिए ।
जिल्लाभरीका नेता कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता हुने गाउँ कमिटीले जनाएको छ । सहभागी हुने नेता, कार्यकर्तालाई बबईका स्थानीय घरहरुमा बास बस्ने व्यवस्था मिलाइने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
पूर्ण बैठकलाई नेकपा एमालेको लेखा आयोगका सदस्य साबित्री विश्वकर्माले मंसिरमा हुने चुनावलाई लक्षित भएर खटिन कार्यकर्तालाई निर्देशन दिइन् । पार्टीले एक्लै निर्वाचन जाने तयारी गरेको भन्दै विश्वकर्माले सबैलाई पार्टीको निर्देशन अनुसार काम गर्न आग्रह गरिन् ।
बैठकमा जिल्ला सचिव मनोहर बुढाथोकीले विगतबाट पाठ सिकेर सुनौलो भविष्य निर्माणमा लाग्न आग्रह गरे । जिल्लामा हुने प्रशिक्षण कार्यक्रमलाई सफल बनाउनका लागि गाउँ कमिटीलाई उनले आग्रह गरे ।
बैठकमा प्रदेश कमिटीका सदस्य भुबनेश्वर पौडेल, जिल्ला सदस्यहरु प्रेमबहादुर खत्री, नन्दलाल वली, मानबहादुर आले, मंगल चौधरी, देबु बस्नेत, क्षेत्रीय सचिव टेकबहादुर वलीले आ–आफ्नो धारणा राखेका थिए ।
प्रशिक्षण कार्यक्रम बबई गाउँपालिकाको सभाहलमा हुने जनाइएको छ । प्रशिक्षण कार्यक्रमका लागि केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको टोली दाङ आउने जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उपाध्यक्ष शारदा शाहको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सहजीकरण सचिव डम्बरबहादुर सिरिस मगरले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies