
भक्तपुर : सहकारी क्षेत्रमा देखिएको संकट, वित्तीय अपारदर्शिता र भ्रामक सूचनाको चुनौतीबीच पत्रकारहरूलाई सहकारीसम्बन्धी विषयमा दक्ष बनाउन आयोजित दुईदिने ‘सहकारी पत्रकारिता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम’ आइतबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेश सरकार अन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयको वित्तीय सहयोगमा भक्तपुरको नगरकोटमा सम्पन्न तालिममा बागमती प्रदेशका १३ जिल्लाका ४० जना पत्रकार सहभागी भएका थिए ।
वैशाख २६ र २७ गते सञ्चालन गरिएको तालिममा सहकारी पत्रकारिता, अनुसन्धानमूलक रिपोर्टिङ, सहकारी संकटमा मिडियाको भूमिका, सहकारी कानुन, पत्रकारितामा नैतिकता, तथ्यजाँच तथा सहकारी क्षेत्रका चुनौती र अवसरका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा पत्रकार यादव हुमागाईंले सहकारी पत्रकारिताको अवधारणा, अनुसन्धानमूलक पत्रकारिताका अभ्यास तथा सहकारी क्षेत्रमा देखिएका समस्या र मिडियाको जिम्मेवारीबारे सहजीकरण गरेका थिए ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारीका वित्तीय सूचक, प्रतिवेदनमा आधारित समाचार लेखन, वित्तीय विवरण विश्लेषण, जोखिम संकेत पहिचान तथा सहकारी संस्थाको वित्तीय स्वास्थ्य परीक्षण गर्ने विधिबारे प्रशिक्षण दिएका थिए ।
त्यसैगरी, पत्रकार हिक्मत आचार्यले तथ्यजाँच (फ्याक्ट चेक) को अवधारणा, तथ्यजाँच गर्ने प्रक्रिया, मिथ्या सूचना र भ्रामक सूचनाबीचको भिन्नता तथा गलत सूचनाका प्रकारबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको समापनमा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले सहकारी क्षेत्रको विश्वसनीयता कायम गर्न तथ्यमा आधारित, जिम्मेवार र अनुसन्धानमूलक पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी थिइन् । उनले सहकारी क्षेत्रमा देखिएका गलत प्रवृत्तिको नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि पत्रकारहरूले निष्पक्ष र सत्यतथ्यमा आधारित भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् ।
मन्त्री रायमाझीले सहकारी सेवा प्रवाहलाई सहज बनाउन ललितपुरमा सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरिएको जानकारी दिँदै अब सहकारीहरूले सेवा लिन प्रदेश राजधानी धाउनुपर्ने बाध्यता कम भएको बताइन् । प्रदेश सरकारले मकवानपुर र ललितपुरबाट सेवा प्रवाहको व्यवस्था मिलाएको उनको भनाइ थियो ।
उनले प्रदेश सरकारले गरिबी निवारणसम्बन्धी नीति निर्माण गरिरहेको जानकारी दिँदै बागमती प्रदेशका आठ जिल्लाका विपन्न, दलित, पिछडिएको वर्ग तथा सिमान्तकृत समुदायका एक हजार घरपरिवारलाई लक्षित गरी आवास निर्माण, बिउ पुँजी तथा सीप विकास तालिम प्रदान गर्ने योजना रहेको बताइन् ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महासंघले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनका अनुसार नेपाली पत्रकारिता अहिले संक्रमणकालीन चरणमा रहेको र डिजिटल पत्रकारिता तीव्र रूपमा विस्तार भइरहेका कारण पत्रकारहरूले नयाँ सीप, अनुसन्धानमूलक अभ्यास तथा तथ्यमा आधारित रिपोर्टिङलाई प्राथमिकता दिन आवश्यक छ ।
कार्यक्रमका संयोजक तथा महासंघका सचिव काजी श्रेष्ठले तालिमले पत्रकारहरूलाई सहकारीको संरचना, वित्तीय अवस्था र जोखिम संकेत बुझ्न सहयोग पुगेको बताए । सहकारीसम्बन्धी समाचारलाई थप विश्वसनीय, तथ्यपरक र जिम्मेवार बनाउन तालिम उपयोगी हुने अपेक्षा गरिएको उनले बताए ।