
ललितपुर : ऐरावत टोल सुधार समिति र हात्तीवन सामुदायिक सेवा समाजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय समुदायलाई लक्षित गर्दै आयोजित उक्त शिविर फेरिज वर्ल्ड इसिडी मन्टेश्वरी स्कुलमा सञ्चालन गरिएको थियो ।
ऐरावत टोल सुधार समितिका अध्यक्ष अर्जुन चौलागाईंको अध्यक्षता तथा ललितपुर महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष जीवन महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कृष्णकुमार श्रेष्ठ तथा जनरल फिजिसियन डा. अनिल पोखरेलसहितका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण, मुटुरोग तथा ईसीजी सेवा, युरिक एसिड परीक्षण, जनरल चेकअप तथा स्वास्थ्य परामर्श, सुगर (मधुमेह) र रक्तचाप परीक्षण सेवा प्रदान गरिएको ऐरावत टोल सुधार समितिका सदस्य दुर्बाशा चौलागाईंले जानकारी दिए । साथै सहभागीहरूलाई निःशुल्क औषधि वितरणसमेत गरिएको उनले बताए ।

शिविरमा हात्तीवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, एम एस एम टी. नेपाल, फेरीज वर्ल्ड इसिडी मन्टेसरी स्कुल, गृहलक्ष्मी महिला समूह, हात्तीवन महिला समूह, संगम महिला समूह, ऐरावत नयाँ बस्ती महिला समूह सह-आयोजकको रूपमा रहेको थियो । शिविरबाट स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।
ललितपुर महानगरपालिका वडा नं. २३ र लायन्स क्लब अफ काठमाडौं रेन्बो चौतारीको विशेष पहलमा शिविर आयोजना गरिएको हो ।
यसैबीच, कार्यक्रममा सहभागी भएका स्थानीयवासीहरूले यस्ता स्वास्थ्य शिविरले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । आयोजकका अनुसार शिविरमा २ सय ४५ जनाको निशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।
आयोजक संस्थाले आगामी दिनमा पनि समुदायस्तरमा स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।