२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

ललितपुर बार एसोसिएसनको अध्यक्षमा सुवेदी निर्वाचित

Nada
रामहरि कार्की
२०८३ जेठ ३ गते १५:१९
Shares
ललितपुर बार एसोसिएसनको अध्यक्षमा सुवेदी निर्वाचित

ललितपुर : ललितपुर बार एसोसिएसनको २९औं कार्यसमितिको निर्वाचनबाट अधिवक्ता कृष्णप्रसाद सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा सुवेदी ३ सय ४६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अधिवक्ता दयाभक्त डंगोलले ३ सय ४० मत प्राप्त गरे । 

ncell

निर्वाचनमा ९ सय ४३ मतदाता रहेकोमा ६ सय ९५ मत खसेको थियो । अध्यक्षका उम्मेदवार सुवेदी र डंगोल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

उपाध्यक्ष पदमा अधिवक्ता विजयकुमार बस्नेत ३ सय ५९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अधिवक्ता नविन केसीले ३ सय २५ मत प्राप्त गरे । सचिव पदमा अधिवक्ता चन्द्रप्रसाद गुरागाईं ३ सय ८१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अधिवक्ता दिलीप देशारले ३ सय २ मत प्राप्त गरे ।

त्यसैगरी सहसचिव पदमा अधिवक्ता मिरा महर्जन निर्वाचित भइन् भने कोषाध्यक्ष पदमा अधिवक्ता इन्दु पाण्डेय ३ सय ५७ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी अधिवक्ता आभास बहादुर प्रधानले ३ सय २२ मत प्राप्त गरे ।

निर्वाचित सदस्यहरूमा अधिवक्ता सन्ध्या कार्की, पवित्रा आलेमगर, आइमान तामाङ, गोपालराज अर्याल, दावा तामाङ, सरिता तिमल्सेना, गोविन्दबहादुर पुन, किरण पोख्रेल, रन्जित कँडेल तथा उजला महर्जन रहेका छन् ।

निर्वाचनपछि प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रकाश महर्जनले सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र लोकतान्त्रिक ढंगले सम्पन्न भएको बताए । उनले भने, “ललितपुर बार एसोसिएसनको निर्वाचन अत्यन्त सभ्य र मर्यादित वातावरणमा सम्पन्न भएको छ । कानुन व्यवसायीहरूले लोकतान्त्रिक संस्कारको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ । विजयी तथा पराजित सबै पक्षलाई धन्यवाद दिन चाहन्छु ।”

नवनिर्वाचित कार्यसमितिले कानुन व्यवसायीहरूको हकहित, व्यावसायिक मर्यादा र न्यायिक क्षेत्रको सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर