२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पत्रकारसँग प्रजिअ घिमिरेको भेटघाट, दक्षिण ललितपुरका समस्या समाधानमा पहल गर्ने

Nada
रामहरि कार्की
२०८३ जेठ ११ गते २०:३६
Shares
पत्रकारसँग प्रजिअ घिमिरेको भेटघाट, दक्षिण ललितपुरका समस्या समाधानमा पहल गर्ने

ललितपुर : जिल्ला प्रशासन कार्यालय ललितपुरमा सोमबार ललितपुरका पत्रकारहरूसँग प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नरहरि घिमिरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

ncell

हालै ललितपुरमा सरुवा भएर आएका प्रजिअ घिमिरेले जिल्लाको समग्र अवस्था, सुरक्षा चुनौती, विकासका समस्या तथा सञ्चार क्षेत्रका विषयमा पत्रकारहरूसँग छलफल गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले ललितपुरलाई बाहिरबाट हेर्दा जस्तो सहज जिल्ला नभएको उल्लेख गर्दै यसको भौगोलिक र सामाजिक विविधताबारे जानकारी गराएका थिए । उनले ललितपुरलाई सहर क्षेत्र, काठ क्षेत्र र दक्षिण भेग गरी तीन भागमा विभाजन गरेर बुझ्न सकिने बताए ।

‘दक्षिण ललितपुरलाई कर्णालीको उपमा दिने गरिन्छ । त्यहाँ अहिले पनि आधारभूत पूर्वाधार, सञ्चार र यातायातका समस्या छन्,’अध्यक्ष कार्कीले भने, ‘नयाँ बस्ती विस्तार भइरहेका क्षेत्रमा लागुऔषध दुव्र्यसन र चोरीका घटना बढ्दो अवस्थामा छन् भने लुभु, गोदावरी र लेलेलगायत काठ क्षेत्रमा जुवातासका गतिविधि बढी देखिएका छन् ।’

उनले पत्रकारलाई सूचना प्राप्त गर्न सहज वातावरण बनाउन आग्रह गर्दै पत्रकारको सुरक्षामा प्रशासनले विशेष ध्यान दिनुपर्ने बताए । 

‘पत्रकारले तथ्यमा आधारित समाचार लेख्न सूचना सहज रूपमा पाउनुपर्छ,’ उनले भने, ‘पत्रकारको सुरक्षाप्रति प्रशासन संवेदनशील हुन जरुरी छ ।’

नेपाल प्रेस युनियन ललितपुरका अध्यक्ष केदारनाथ दाहालले पत्रकार राज्यको मात्र नभई प्रशासनको पनि प्रतिपक्षी भएको उल्लेख गर्दै सञ्चारमाध्यमले ‘वाचडग’ को भूमिका निर्वाह गर्ने बताए । 

उनले विशेषगरी दक्षिण ललितपुरमा मोबाइल नेटवर्क र सडक पूर्वाधारको समस्या गम्भीर रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि प्रशासनले पहल गर्नुपर्ने धारणा राखे । ‘दक्षिण भेगका नागरिक अहिले पनि सञ्चार पहुँच र यातायात समस्याबाट प्रभावित छन्,’ दाहालले भने, ‘राज्यका सेवा–सुविधा प्रभावकारी बनाउन प्रशासनले प्राथमिकताका साथ काम गर्नुपर्छ ।’

राष्ट्रिय समाचार समिति (रासस) ललितपुर प्रतिनिधि माधवप्रसाद घिमिरेले दक्षिण ललितपुरको कान्तिलोकपथ वर्षायाममा बारम्बार अवरुद्ध हुने समस्या उठाएका थिए । उनले वर्षासँगै आउने पहिरोका कारण सडक बन्द हुँदा नागरिकले सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए । 

‘यस्ता विपद् र सडक अवरोधका सूचना प्रशासनले एकद्वार प्रणालीमार्फत तत्काल सार्वजनिक गर्न सके नागरिक समयमै सचेत हुन सक्छन्,’उनले भने ।

प्रेस चौतारी नेपाल ललितपुर शाखाका अध्यक्ष नवीन लुइँटेलले काठ क्षेत्रका विभिन्न स्थानमा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको भन्दै त्यसको नियन्त्रणमा प्रशासनले विशेष निगरानी बढाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले पत्रकारलाई सूचना सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकार र प्रशासनबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पत्रकारले प्रशासनका कामकारबाहीमाथि निगरानी गर्ने भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘पत्रकार लोकतन्त्रका महत्वपूर्ण अंग हुन्,’ प्रजिअ घिमिरेले भने, ‘पत्रकारलाई सूचना उपलब्ध गराउन प्रशासन सधैं सकारात्मक रहनेछ । पत्रकारको जीउधनको सुरक्षालाई पनि प्राथमिकतामा राखेर काम गर्छौं ।’

उनले जिल्लाको शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सुप्रभाव ढुंगेल खनालले पत्रकारसँग सूचना प्रवाहका क्रममा धेरै समन्वय गर्नुपर्ने अवस्था आउने गरेको बताउँदै पत्रकारका गुनासा समाधान गर्न प्रशासन तत्पर रहेको बताइन् ।

‘पत्रकारहरूसँग प्रत्यक्ष रूपमा धेरै समन्वय गर्नुपर्ने भएकाले उनीहरूका समस्या र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर पाएको छु,’ उनले भनिन्, ‘सूचना प्रवाहलाई अझ प्रभावकारी र सहज बनाउने प्रयास जारी रहनेछ ।’

भेटघाट कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाको सुरक्षा अवस्था, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, सूचना प्रवाह र पत्रकार–प्रशासन सहकार्यका विषयमा छलफल भएको थियो ।

सम्बन्धित खबर