
ललितपुर : युरोपेली स्किनकेयर तथा व्यक्तिगत हेरचाहसम्बन्धी ब्रान्ड ‘प्योर डर्मा’ले नेपाली बजारमा औपचारिक रूपमा आफ्नो उपस्थितिको घोषणा गरेको छ । सोमबार ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले एकैपटक १५ वटा उत्पादन सार्वजनिक गरेको हो ।
कार्यक्रममा ‘प्योर डर्मा नेपाल’का प्रमुख कार्यकारी अधिकृत प्रकाश पाठकले नेपाललाई सम्भावनायुक्त बजारका रूपमा चयन गरिएको जानकारी दिए । उनले नेपाली उपभोक्तामा गुणस्तरीय र वैज्ञानिक परीक्षणमा आधारित स्किनकेयर उत्पादनप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ब्रान्ड नेपाल भित्र्याइएको बताए ।
सार्वजनिक गरिएका उत्पादनहरूमा क्लारिडर्मा एक्ने फेसवास, डर्मा बोटोक्स क्रिम, हाफो ह्यान्ड एन्ड फुट क्रिम, एनयूएस किड्स क्रिम एसपीएफ २५ प्लस, न्युटिक कोलेजन नाइट र्यापिङ मास्क तथा प्योर बेबी क्रिम लगायत रहेका छन् । कम्पनीका अनुसार यी उत्पादनहरू विभिन्न उमेर समूह र छालाका फरक–फरक आवश्यकतालाई मध्यनजर गरी विकास गरिएका हुन् ।
सिइओ पाठकले ‘प्योर डर्मा’का उत्पादनहरू गुणस्तर, प्रभावकारिता, वैज्ञानिक परीक्षण तथा अन्तर्राष्ट्रिय मापदण्डका हिसाबले अन्य ब्रान्डभन्दा फरक रहेको दाबी गरे । उनले उपभोक्ताको विश्वास र आवश्यकतालाई केन्द्रमा राखेर उत्पादन बजारमा ल्याइएको स्पष्ट पारे ।
कम्पनीले आफ्ना उत्पादनहरू देशभरका आधिकारिक बिक्री केन्द्र तथा वितरण सञ्जालमार्फत उपलब्ध गराउने जनाएको छ । साथै, निकट भविष्यमा देशव्यापी पहुँच विस्तार गर्ने योजना पनि रहेको जानकारी दिइयो ।
कार्यक्रममा उत्पादनहरूको विशेषता, प्रयोग विधि तथा उपभोक्ताले प्राप्त गर्ने लाभबारे विस्तृत प्रस्तुति गरिएको थियो । पत्रकार सम्मेलनमा सञ्चारकर्मी तथा सौन्दर्य र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
१५ वटा उत्पादनको एकसाथ सार्वजनिकरणसँगै ‘प्योर डर्मा’ले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका स्किनकेयर तथा व्यक्तिगत हेरचाह समाधान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।