
काठमाडौं : पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महत्वपूर्ण भेटवार्ता सकेका छन् । बुधबार नयाँ दिल्लीमा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटे ।
भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले थप लेखेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पु¥याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं ।’
रास्वपा सभापति लामिछानेले पनि सामाजिक सञ्जालबाटै भेटबारे जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म भविष्यका लागि नेपाल र भारतले विगतका बाधा पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अँगाल्ने तपाईंको दृष्टिकोणसँग सहमत छु । साझा सभ्यताको सम्बन्ध, डिजिटल करिडोर र निर्बाध कनेक्टिभिटीमा ध्यान केन्द्रित गर्दै हामी साँच्चै प्रगति र पारस्परिक विश्वासद्वारा परिभाषित साझेदारी निर्माण गर्न सक्छौं ।’
अर्थात्, सौहार्दपूर्ण भेट भएको छ । भेटमा सहभागी सदस्यहरूका अनुसार भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचका छलफलका विषय के–कस्ता हुन सक्छन् भनेर त्यसको लिस्ट मागेका छन् । त्यस्तो लिस्टउपर समय नै यकिन गरेर काम गर्न सकिने मोदीको सन्देश छ ।
लामिछानेको भारत भ्रमण टोलीमा लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सांसदहरू विपिन आचार्य, दीपक बोहोरा र दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी छन् ।
लामिछानेले भारतीय प्रधानमन्त्रीबाहेक भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष नीतिन नवीनलगायतसँग भेटवार्ता गरे ।
तर नेपालमा भइरहेको सीमा विवादको बहसको विषय भने प्राथमिकताका साथ उठेन ।
गत आइतबार नेपालको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यस्तो अभिव्यक्तिको नेपालमा विरोध भइरहेका बेला रास्वपा सभापतिको भारत भ्रमण भएको हो । तर नेपालमा बहस भएजस्तो सीमा विवादको विषय लामिछानेको भारतीय उच्च अधिकारी र भाजपाको नेतृत्वसँगको भेटवार्ताका क्रममा प्रकट भएन ।
बरु नेपाल–भारत सीमाको विषयमा नेपालका प्रधानमन्त्री शाहले तेस्रो मुलुकको संलग्नताको विषय उठाएको विषयलाई भारतले अस्वीकार गरेको छ ।
प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा विवाद समाधानमा युकेको पनि भूमिका हुन सक्ने जनाएका थिए । तर भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल र भारत सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने प्रतिक्रिया दिएका हुन् ।
नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल र भारतबीचका सीमासम्बन्धी विषय विद्यमान द्विपक्षीय संयन्त्रमार्फत सम्बोधन भइरहेका भन्दै भारतले यसमा कुनै तेस्रो पक्षको भूमिका नरहने बताएका हुन् ।