२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विद्यालय तहबाटै स्वस्थ जीवनशैली निर्माणको अभियान

Nada
रामहरि कार्की
२०८३ जेठ २२ गते ११:४१
Shares
विद्यालय तहबाटै स्वस्थ जीवनशैली निर्माणको अभियान

ललितपुर : पछिल्लो समय विद्यार्थीहरूमा बढ्दो अस्वस्थ जीवनशैली, शारीरिक निष्क्रियता र मानसिक तनावका चुनौतीबीच ललितपुरको कोज्योसोम गाउँपालिकाले विद्यालय तहबाटै स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

ncell

गाउँपालिकाअन्तर्गत चौघरे स्वास्थ्य चौकीमा तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न विद्यालयका २४ जना विद्यार्थी सहभागी भए । कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, नियमित योगाभ्यास र आयुर्वेदिक ज्ञानप्रति अभिमुख गराउनु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले दैनिक योगाभ्यास, प्राणायाम तथा विभिन्न आसनहरूको अभ्यास गरेका थिए । प्रशिक्षकहरूले योगलाई शारीरिक व्यायाम नभई मानसिक सन्तुलन र अनुशासन कायम गर्ने प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गरेका थिए । उनीहरूका अनुसार नियमित योगाभ्यासले तनाव व्यवस्थापन, एकाग्रता वृद्धि तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

कार्यक्रममा आयुर्वेदका आधारभूत सिद्धान्त, सन्तुलित आहार, स्वस्थकर बानी तथा जीवनशैलीका विषयमा पनि प्रशिक्षण प्रदान गरिएको थियो । विद्यार्थीहरूलाई दैनिक जीवनमा अपनाउन सकिने स्वास्थ्य प्रवर्द्धनका उपायहरूबारे व्यवहारिक जानकारी दिइएको थियो ।

विशेषगरी ऋतु परिवर्तनसँगै स्वास्थ्यमा पर्न सक्ने प्रभाव र त्यसअनुसार खानपान तथा जीवनशैली व्यवस्थापन गर्ने तरिकाबारे कक्षा सञ्चालन गरिएको थियो । यसले विद्यार्थीहरूलाई मौसमअनुसार स्वास्थ्य जोगाउने ज्ञान प्राप्त भएको प्रशिक्षकहरूको भनाइ छ ।

कार्यक्रममा भान्सामा सहजै उपलब्ध हुने बेसार, अदुवा, ज्वानो, मेथी र तुलसीजस्ता जडीबुटीहरूको औषधीय महत्वबारे पनि जानकारी दिइएको थियो । सामान्य स्वास्थ्य समस्या तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा यस्ता जडीबुटीहरूको प्रयोग उपयोगी हुने विषयमा विद्यार्थीहरूलाई अवगत गराइएको थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरकी प्रमुख डा. पुनम नेपालले विद्यालय तहबाटै योग र आयुर्वेदसम्बन्धी ज्ञान विस्तार गर्न सके स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने बताइन् । उनका अनुसार बालबालिकामा सानैदेखि स्वस्थ जीवनशैलीको संस्कार विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्छन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले सिकेका ज्ञान र सीपलाई आफ्ना विद्यालय तथा परिवारमा समेत विस्तार गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमपश्चात विद्यालयहरूमा नियमित योग सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ, जसले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

सम्बन्धित खबर