
काठमाडौँ : बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलता नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले शुक्रबार ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७७ दिन अवधिको लागि उक्त रकम बजारबाट तान्न लागेको जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता उच्च स्तरमा रहेकाले राष्ट्र बैंकले नियमित रूपमा बजारबाट रकम अवशोषण गर्दै आएको छ ।
यस प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सहभागी संस्थाहरूले आफूले निक्षेप गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावमध्ये न्यूनतम ब्याजदरका आधारमा राष्ट्र बैंकले रकम स्वीकृत गर्नेछ ।
निक्षेप संकलन कार्यक्रममा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ । साथै, कुल माग गरिएको रकमको सीमाभित्र रही पाँच करोड रुपैयाँले भाग जाने रकमका लागि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार यसरी संकलन गरिने निक्षेपको अवधि ७७ दिन रहनेछ र उक्त उपकरण २०८३ साल भदौ ५ गते परिपक्व हुनेछ ।