२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

म्यारिअटको प्रिमियम ब्रान्ड नेपालमा, ‘हाई प्रोफाइल’ पर्यटककेन्द्रित

Nada
छबि सापकोटा
२०८३ जेठ २४ गते २१:४०
Shares
म्यारिअटको प्रिमियम ब्रान्ड नेपालमा, ‘हाई प्रोफाइल’ पर्यटककेन्द्रित

काठमाडौं : नेपालमा उच्च तहका पर्यटकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय चेन होटल प्रवेश बढ्दो छ । नेपालमा पर्यटकको औसत बसाइ र खर्च कम गर्ने पर्यटक आगमन बढे पनि ‘हाई प्रोफाइल’ पर्यटकको आगमन निकै कम छ । तर, पछिल्लो समय नेपालमा धमाधम सुविधासम्पन्न तारेहोटल निर्माणसँगै अन्तर्राष्ट्रिय चेन होटलहरू समेत नेपाल भित्रिरहेका छन् । अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड म्यारिअट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारिअटले नेपाल आएर एकैदिन ३ वटा तारेहोटलसँग सम्झौता गरेका छन् । 

ncell

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले लगानी गरेको निर्माणाधीन लक्जरी होटल ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ र सिजी हस्पिटालिटी ग्लोबलका दुई होटल ‘द रिट्ज–कार्लटन काठमाडौं र ‘द वेस्टिन काठमाडौं’सँग सम्झौता गरेका हुन् । 

पछिल्लो समय अन्तर्राष्ट्रिय चेन होटलको नेपाल प्रवेशसँगै तारेहोटल निर्माण र सञ्चालन बढेको छ । प्राकृतिक सुन्दरता र नेपाली आतिथ्यका कारण विदेशी पर्यटकको रोजाइमा नेपाल पर्दै आएपछि अन्तर्राष्ट्रिय चेन होटलले समेत नेपालमा लगानी विस्तार गरेका हुन् । काठमाडौंको केशरमहलमा निर्माण भइरहेको होटलको व्यवस्थापनमा म्यारिअटअन्तर्गतको लक्जरी होटल ‘द लक्जरी कलेक्सन होटल’ एक वर्षभित्र नै सञ्चालनमा ल्याउनेगरी म्यारिअट इन्टरनेसनलका अध्यक्ष म्यारिअटको उपस्थितिमा सम्झौता गरिएको छ ।

‘द लक्जरी कलेक्सन होटल’ नेपालकै अहिलेसम्मकै सबैभन्दा लक्जरी ब्रान्डका रूपमा नेपाल भित्रिन लागेको हो । सन् २०१४मा शेष घलेको एमआइटी ग्रुप होल्डिङअन्तर्गत होटल निर्माण सुरु गरेका छन् । सुरुमा म्यारिअटअन्तर्गतकै सेराटन ल्याउने गरी सम्झौता भएको थियो । तर, सेराटन आउट भएपछि होटल निर्माणको गति समेत सुस्त बनेको थियो । निर्माणको अन्तिम चरणमा म्यारिअट बोनभोयको सबैभन्दा लक्जरी ब्रान्डको रूपमा द लक्जरी कलेक्सन सम्झौता भएको हो । 

यस्तै, म्यारिअट इन्टरनेसनल इन्कले सिजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालन गर्ने सम्झौता भएको छ । म्यारिअटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने म्यारिअटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डको रूपमा नेपाल भित्रिएका हुन् । यी दुवै होटल सन् २०३१ सम्म सञ्चालनमा आउने लक्ष्य लिइएको छ । 

चौधरी ग्रुप र म्यारिअट इन्टरनेसनलबीच दक्षिण एसियाका विभिन्न हस्पिटालिटी परियोजनामार्फत बलियो सहकार्य भएको हो । वेस्टिन काठमाडौं र रिट्ज–कार्लटन चौधरी ग्रुप, आइइजी ग्रुप, आइजे ग्रुप र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् । 

नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य संस्कारको प्रशंसा गर्दै अध्यक्ष म्यारिअटले नेपालमा पर्यटन पूर्वाधारको विकास र विस्तारका लागि म्यारिअट प्रतिबद्ध रहेको बताए । उनले सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी र सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीसँगको दीर्घकालीन साझेदारीले पर्यटन अर्थतन्त्रलाई थप सबल बनाउने विश्वाससमेत व्यक्त गरे । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल ‘म्यारिअट इन्टरनेसनल’सँगको साझेदारीले नेपालको आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै म्यारिअट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारिअटको नेपाल भ्रमणले लगानीको सम्भावनालाई देखाएको बताए । 

अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सम्भावना देखाएको छ । विश्वभर १० हजार होटलको व्यवस्थापन गरेको म्यारिअटले नेपालमा होटल व्यवस्थापनमा देखाएको अग्रसरताले खर्च गर्न सक्ने हाइप्रोफाइलका पर्यटकको नेपाल यात्रालाई बढाउनेछ । 

ताजा खबर

सम्बन्धित खबर