
काठमाडौं : नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकले अब आफ्नो मोबाइल बैंकिङ एप एनबैंक प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् । त्यस्तै, नेपाली तथा भारतीय दुवै देशका नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्तालाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो । ‘यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो । यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।
बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ । नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भारु. १५ हजार र मासिक अधिकतम भारु. १ लाखसम्म पठाउन सक्नेछन् । त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम भारु. २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन । यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेसको सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ ।