
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठुलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जस्तो नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्नेगरी सरकार अघि बढेको बताए ।
पुराना अभ्यासहरूबाट फाइदा लिइरहेकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उल्लेख गर्दै उनले त्यसलाई ‘अन्तिम छटपटी’ को बताए । डा. वाग्लेले अबको अर्थतन्त्र ‘लेभल प्लेइङ फिल्ड’ र प्रतिष्पर्धामा आधारित हुने बताउँदै त्यो छटपटी धेरै नटिक्ने पनि बताए ।
उनकाअनुसार अब नियामक निकायहरूमा स्वच्छ, सफा र सक्षम मान्छेहरू आउँछन् । राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन अब सकिएका छन् ।
मन्त्री वाग्लेले मुलुकलाई आगामी बजेट उद्यममैत्री रहेको समेत बताए । सुशासनलाई केवल नारामा मात्र सीमित नराखी यसलाई एउटा संस्थागत संस्कृतिका रूपमा विकास गरिने प्रतिबद्धता समेत उनले बताए ।