
काठमाडौं : लिटमस इन्डस्ट्रिज लिमिटेडलाई नेपाल उद्योग परिसंघले 'भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग' विधामा सम्मान प्रदान गरेको छ । परिसंघको २३औं वार्षिक साधारण सभामा लिटमसलाई यो अवार्ड प्रदान गरिएको हो ।
नेपालकै सबैभन्दा ठुलो तार, केबल र कन्डक्टर उत्पादक लिटमस इन्डस्ट्रिज नेपालमा एल्मुनियम र एल्मुनियम एलोय रड उत्पादन गर्ने एकमात्र उद्योग पनि हो । यो सम्मानले कम्पनीको गुणस्तर, नवप्रवर्तन र उत्पादन उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।
सम्मान ग्रहण गर्दै कम्पनीका मुख्य सञ्चालन अधिकृत प्रकाश काफ्लेले यो सफलता लिटमस परिवारका सम्पूर्ण सदस्यहरूको कडा परिश्रम र समर्पणको परिणाम भएको बताए ।
उनले आगामी दिनमा पनि निर्यात विस्तार र देशको आर्थिक विकासमा योगदान पुर्याउन कम्पनी प्रतिबद्ध रहने जानकारी दिए । लिटमसले हजारौंको संख्यामा रोजगारी सिर्जना गर्नुका साथै आयात प्रतिस्थापनमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।