२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

‘सञ्चार क्षेत्रमाथि सरकारले नियन्त्रण र प्रतिबन्ध लगाउन खोज्यो’

Nada
रामहरि कार्की
२०८३ जेठ ३० गते २०:५६
Shares
‘सञ्चार क्षेत्रमाथि सरकारले नियन्त्रण र प्रतिबन्ध लगाउन खोज्यो’

भक्तपुर : नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औँ वार्षिक साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ ।

ncell

साधारणसभामा महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य सूर्य सुवेदी, उपत्यका प्रदेश समितिकी कार्यवाहक अध्यक्ष रोजिना थापा, काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल, अग्रज पत्रकार कविर राणा तथा शाखाका सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शाखाको वार्षिक प्रगति प्रतिवेदन सहसचिव राजन छुकांले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामगोपाल तमखुले प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सुझावसहित सर्वसम्मत रूपमा पारित भए ।

साधारणसभालाई सम्बोधन गर्दै महासंघका महासचिव दाहालले सरकारले सञ्चार क्षेत्रमाथि विभिन्न प्रकारका नियन्त्रण र प्रतिबन्ध लगाउन खोजेको आरोप लगाए । उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारको पेशागत अधिकार संरक्षणका लागि महासंघ आन्दोलनमा उत्रिएको बताए । सरकारले विज्ञापन नीति तथा सञ्चारसम्बन्धी कानुन निर्माणका विषयमा सरोकारवालासँग पर्याप्त छलफल नगरेको भन्दै पत्रकारहरू थप सचेत हुनुपर्ने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य सूर्य सुवेदीले उपत्यका क्षेत्रमा स्वरोजगारमूलक छापा माध्यमहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै तिनको संरक्षण आवश्यक रहेको बताए । उनले पत्रकारिता डिजिटल माध्यमतर्फ रूपान्तरण भइरहेका बेला छापा माध्यमको भविष्यबारे पनि गम्भीर बहस आवश्यक रहेको धारणा राखे ।

उपत्यका प्रदेश समितिकी कार्यवाहक अध्यक्ष रोजिना थापाले पत्रकारितामा लामो समयदेखि देखिएका समस्या अझै समाधान हुन नसकेको बताउँदै आगामी दिनमा चुनौतीहरू थप बढ्ने संकेत देखिएको बताइन् ।

महासंघका पूर्वसचिव तथा भक्तपुर शाखाका पूर्व अध्यक्ष नारायण किलम्बूले सञ्चार क्षेत्रलाई असर गर्ने सरकारी नीतिका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने आवश्यकता औँल्याए । उनले निजी सञ्चार माध्यममा सरकारी विज्ञापन नदिने निर्णयले सूचनाको पहुँच कमजोर बनाउने बताए ।

अग्रज पत्रकार कविर राणाले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध पत्रकार महासंघले सशक्त भूमिका खेल्नुपर्ने धारणा राखे ।

काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले काठमाडौं, भक्तपुर र ललितपुर शाखाहरू पत्रकारका साझा मुद्दामा एकताबद्ध भएर अघि बढिरहेको बताइन् । उनले आगामी आन्दोलनका कार्यक्रमहरूमा पत्रकारहरूको सक्रिय सहभागिताको आह्वान गरिन् ।

प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष मदन ढुंगानाले पत्रकारहरूको पेशागत हकहित, प्रेस स्वतन्त्रता र संस्थागत सुदृढीकरणका लागि सञ्चारकर्मीबीच एकता आवश्यक रहेको बताए ।

कार्यक्रमको समापन गर्दै भक्तपुर शाखाका अध्यक्ष सुन्दर सिल्पकारले सदस्यहरूबाट प्राप्त सुझावका आधारमा आगामी दिनमा शाखाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खबर