
ललितपुर : विश्व रक्तदाता दिवसको अवसरमा ललितपुरमा रक्तदाता संघ–संस्थालाई आइतबार सम्मान गरिएको छ ।
बज्रबाराही चापागाउँ अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाको समन्वयमा आयोजित कार्यक्रममा रक्तदानमार्फत हजारौं नागरिकको जीवन बचाउन योगदान पुर्याएका संघ–संस्था र व्यक्तित्वलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले रक्तदानलाई मानवीय सेवाको सर्वोच्च उदाहरणका रूपमा व्याख्या गर्दै रक्तदाताको सम्मान समाजको दायित्व भएको बताए ।
उनले भने, “रगत कृत्रिम रूपमा उत्पादन गर्न सकिँदैन । संकटमा परेका बिरामीका लागि रक्तदाताले दिएको रगत नै जीवनको आधार बन्छ । त्यसैले रक्तदाताको सम्मान गर्नु भनेको जीवन बचाउने संस्कृतिको सम्मान गर्नु हो ।”
नगरप्रमुख महर्जनले युवा पुस्तामा रक्तदानप्रतिको चेतना बढाउन कलेज तथा शैक्षिक संस्थामै पुगेर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपद्का बेला रक्तदाताको भूमिका झन् महत्वपूर्ण हुने उल्लेख गर्दै उनले गोदावरी नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने योजना अघि बढाएको जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले जिल्लामा रगतको माग निरन्तर बढ्दै गएको बताउँदै रक्तदान अभियानलाई अझ व्यापक बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
उनले भने, “चालु आर्थिक वर्षमा ६ हजार ३८८ पिन्ट रगत संकलन गरेका छौं । त्यसमध्ये ६ हजार १९६ पिन्ट वितरण भएको छ भने ६२ पिन्ट रगत निःशुल्क उपलब्ध गराइएको छ । एउटा पिन्ट रगतले कसैको जीवन बचाउन सक्छ भन्ने भावनाले नागरिकहरू रक्तदानमा जोडिनु आवश्यक छ ।”
अध्यक्ष महर्जनका अनुसार नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले २०७० सालदेखि रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ । शाखाले वार्षिक करिब १० हजार पिन्ट रगत संकलन गर्दै पाटन अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल र लेप्रोसी अस्पताललगायतका स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा एक आर्थिक वर्षमा सबैभन्दा बढी रगत दान गर्ने संस्थाका रूपमा १७१ पिन्ट रगत संकलन गरेको नेपाल ख्रीष्टियन समाज प्रथम, ११८ पिन्ट संकलन गरेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र द्वितीय, ९७ पिन्ट संकलन गरेको नेपाल रेडक्रस सोसाइटी सैंबु उपशाखा तृतीय, ९३ पिन्ट संकलन गरेको क्वेष्ट इन्टरनेशनल कलेज चौथो तथा ७९ पिन्ट संकलन गरेको वडास्तरीय महिला समिति वडा नं. १५ पाँचौँ स्थानमा सम्मानित भए।
त्यसैगरी, वर्षभरिमा सबैभन्दा बढी रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थातर्फ नेपाल रेडक्रस सोसाइटी चापागाउँ उपशाखा आठ पटक कार्यक्रम सञ्चालन गर्दै प्रथम, ब्लड डोनर्स एसोसिएसन नेपाल ललितपुर जिल्ला शाखा सात पटक कार्यक्रम सञ्चालन गर्दै द्वितीय, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र छ पटक रक्तदान कार्यक्रम गर्दै तृतीय तथा नेपाल रेडक्रस सोसाइटी वडा नं. १३ उपशाखा चार पटक कार्यक्रम आयोजना गर्दै चौथो स्थानमा सम्मानित भए ।
कार्यक्रममा बज्रबाराही चापागाउँ अस्पतालका व्यवस्थापन समिति अध्यक्ष रामहरि घिमिरेले रेडक्रसलाई परोपकार र सेवाको पर्यायका रूपमा समाजले चिन्ने गरेको बताए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. किसन नेपालीले अस्पतालले दैनिक ३५० भन्दा बढी बिरामीलाई सेवा दिँदै आएको र नयाँ भवन सञ्चालनमा आएपछि सेवा विस्तार हुने बताए ।
विश्व रक्तदाता दिवसका अवसरमा आयोजित कार्यक्रमले रक्तदान एक दिनको अभियान मात्र नभई निरन्तर जीवन बचाउने मानवीय आन्दोलन भएको सन्देश दिएको सहभागीहरूले बताए । रक्तदाताको एक थोपा रगतले कसैको जीवनमा नयाँ बिहान ल्याउन सक्ने भएकाले रक्तदानलाई सामाजिक संस्कारकै रूपमा विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।