
काठमाडौं : नेकपा एमालेकी सांसाद साजिदा खातुन सिद्धिकीले लागूऔषध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद सिद्धिकीले मध्यान्ह राष्ट्रिय दैनिकमा गत जेठ २९ गते शुक्रबार प्रकाशित 'दुर्व्यसनीको दलदलमा युवा' शीर्षकको समाचार वाचन गर्दै लागूऔषध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले विद्यालय, विश्वविद्यालय अध्ययन गर्ने युवाहरुको लागूऔषधको दुर्व्यसनीमा फस्ने क्रम बढ्दै जाँदा पनि सरकारले त्यसको नियन्त्रणका लागि पहल गर्न नसकेको बताइन् ।
सांसद सिद्धिकीले लागूऔषध दुर्व्यसनीमा फसेकाहरूले मुलुकमा हत्या, हिंसा, चोरीलगायतका गम्भीर अपराधका घटना घटाएकाले सरकारले यसको नियन्त्रण गर्ने कामलाई विशेष रूपमा अघि बढाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘स्कुल, कलेजमा पढ्ने युवाहरु डरलाग्दो गरी लागूऔषधको कुलतमा फसेका छन् । केही वर्ष अघिको तथ्यांकले एक लाख ३० हजार भन्दा धेरै युवा कडा खालको लागुऔषध सेवन गर्ने गरेका छन् । त्यो संख्या हरेक वर्ष ११ प्रतिशतका दरले बढ्दै गएको पनि तथ्यहरूले देखाएको छ । नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढदै गएको छ । विभिन्न अपराधमा पनि लागूऔषध जोडिएको प्रहरीको अनुसन्धानले देखाएको छ । नसाको सेवनको लागि पैसा जोहो गर्न हत्या, हिंसा, चोरीजस्ता अपराधिक गतिविधिमा संलग्न हुनुको साथै जस्तोसुकै मूल्य चुकाउन पनि पछि पर्दैनन् । यसको नियन्त्रणका लागि सरकारले विशेष खालको योजना बनाउनु पर्दछ ।’
पढ्नुहोस् : 'दुर्व्यसनीको दलदलमा युवा'