२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कभर स्टोरीः दुर्व्यसनको दलदलमा युवा

स्कुल/कलेज पढ्ने उमेरका युवाहरू डरलाग्दोगरी लागुऔषधको कुलतमा फसेका छन् । केही वर्षअघिको तथ्यांकले एक लाख ३० हजारभन्दा धेरै युवाले कडाखाले लागुऔषध सेवन गर्ने गरेका छन् । त्यो संख्या हरेक वर्ष ११ प्रतिशतका दरले बढ्दै गएको पनि तथ्यहरूले देखाएको छ ।

Nada
सपना बोहरा
२०८३ जेठ २९ गते ०६:२५
Shares
कभर स्टोरीः दुर्व्यसनको दलदलमा युवा

‘आज एकपटक मात्र । भोलि खा भन्दिनँ साथी ।’
‘थोरै टेस्ट गरेर त हेर् । लास्ट सिक बनाउँछ यार ।’

ncell

चितवनका रवीन्द्र विष्ट लागुऔषध दुर्व्यसनमा फसेका सहपाठीहरूका यस्तै करकापमा बहकिए । उनी पढाइमा अब्बल थिए । परिवार र शिक्षकले शंका गर्ने ठाउँ थिएन् । जोस, जाँगर बोकेर उनी ल्याब टेक्निसियन पढ्दै थिए । एकपटक साथीले सानो प्याकेटमा धुलो पदार्थ ल्याएर त्यसरी नै चाख्न लगायो । उनलाई पनि एकपटक लिँदैमा के फरक पर्ला र भन्ने लाग्यो । जसै उनले प्रयोग गरे उनी नराम्ररी लठ्ठिए । ‘कलेजमा साथीहरूले लागुपदार्थ लिएर आउँथे । उत्सुकता लाग्थ्यो । चाख्दा–चाख्दै लत बस्यो,’ उनी भन्छन्, ‘अनि त, पढाइ बिग्रियो । भविष्य अन्धकार अनि जिन्दगी डामाडोल भइहाल्यो ।’

लत बसेपछि लागुपदार्थ किन्न उनीसँग पैसा हुँदैनथ्यो । पैसा माग्दा घरमा झगडा नै हुन्थ्यो । विद्यालयमा शिक्षकहरूलाई तनाव अनि घरमा अभिभावकलाई चिन्ता । विष्टलाई भने लागुपदार्थ किन्नको लागि पैसाको जोहो कसरी गर्ने मात्र तनाव हुन्थ्यो । ‘कहिलेकाहीँ त चोर्न, लुट्न नै जाऊँ–जाऊँ जस्तो लाग्थ्यो, तर घरबाटै पैसा पाउँथेँे,’ उनी भन्छन् । पैसा नपाए उनी रिस पोख्थे । 

यसरी एउटा प्रतिभावान् किशोर दुर्व्यसनमा फसेर सुधारगृहमा पुगे । तीन वर्ष सुधारगृहमा बसेर घर फर्किंदा उनको पढ्ने घर्किसकेको थियो, आफैंलाई सुधार्न धेरै पैसा खर्च भइसकेको थियो । ‘मनोरञ्जनका लागि धेरै कुरा छन् । लागुपदार्थमा कसैले बिर्सेर पनि हात नहालौं,’ उनी भन्छन्, ‘यसको पीडा फसेका व्यक्ति र उसको परिवारलाई मात्र थाहा हुन्छ ।’ विष्टले अहिले चितवनमा रेस्टुरेन्ट र कस्मेटिक स्किन केयर सप्लिमेन्ट्रीको व्यवसाय गर्दै आएका छन् । 

१४ वर्षसम्म लागुपदार्थ दुर्व्यसनीमा फस्दाको पीडा कस्तो हुन्छ होला ? त्यो पीडा उनी शब्दमा भन्न सक्दैनन् । सकी–नसकी सहरको महँगो विद्यालयमा पढाउन पठाएको छोरा कुलतमा फस्दा बुवाआमालाई कस्तो पीडा भयो होला ? समाजले उनलाई हेर्ने दृष्टिकोण कस्तो बन्यो ? यी सबै सम्झिँदा उनी मरेतुल्य हुन्छन् । त्यही लज्जाबोधले उनी आफ्नो पहिचान खुलाउन चाहँदैनन् । काठमाडौंको एक पुनस्र्थापना केन्द्रमा लागुपदार्थ दुर्व्यसनीविरुद्ध काम गरिरहेका उनी भन्छन्, ‘लागुपदार्थ दुर्व्यसनीमा फस्नु भनेको नारकीय जिन्दगी जिउनु हो । यो दुर्व्यसनीमा कोही नफसून् ।’

स्कुलमै १० वर्षको कलिलो उमेरमै उनी लागुपदार्थ दुर्व्यसनमा फसे । साथीहरूको लहैलहैमा धुलो पदार्थबाट सुरु भएको अँध्यारो यात्रा ट्याबलेटतिर लम्किँदै थियो । ट्याब्लेटले पनि छुन छाडेपछि सिरिन्जतिर लागे । त्यसबाट पनि हाई डोजसम्म पुगे । सुरुमा लागुऔषध खुवाउने साथी टाढिए । स्कुलका शिक्षकहरूले माया गर्न छाडे । परिवार, इष्टमित्रले वास्ता गर्न छाडे । समाजले तिरस्कार गर्न थाल्यो । एक्लिँदै–एक्लिँदै उनी आफूजस्तै दुर्व्यसनमा फसेका साथीहरू खोज्न थाले । त्यो अँध्यारो सुरुङमा थुप्रै दुर्व्यसनी साथीको मृत्यु उनले आँखैअघि देखे । ‘त्यो कहालीलाग्दो पीडा देख्दा मनमा डर लाग्यो । मैले पनि दुर्व्यसनी छाड्नुपर्छ भन्ने मनमा संकल्प लिएँ,’ उनी भन्छन्, ‘दुर्व्यसनबाट मुक्त हुन मन छ, तर दिमागले लत छाडेको थिएन । जसोतसो दुर्व्यसन छाडेर उज्यालो यात्रा सुरु गरेँ ।’ 

सुरुमा उनी परिवारको सल्लाहमा नार्केनान नेपाल गए । त्यहाँ करिब तीन वर्ष बसेपछि दुर्व्यसनबाट मुक्त भए । १४ वर्षपछि उनी दुर्व्यसनबाट त मुक्त भए, तर समाजको तिरस्कार र अपहेलानाबाट मुक्त भएनन् । ‘दुर्व्यसनबाट मुक्त भएर सुध्रिएर समाजमा केही गर्छु भन्दा पनि विश्वास नगर्ने, सामुदायिक काममा सहभागी गराउँदैनथे,’ उनले भने, ‘अब सयौं युवाहरूलाई दुव्यर्सनबाट बाहिर ल्याएर त्यो गुमेको विश्वास फर्काउँछु ।’ 

लागुपदार्थ जोहो गर्न लुटपाटदेखि हत्यासम्म

गत असोज २६ गते राति ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको हत्या गरियो । हतियारधारी समूहले दाहिनेपट्टिको कन्चट तथा कानको भागमा प्रहार गरी उनको बीभत्स हत्या गरे । हत्यापछि उनको घरमा रहेका नगद तथा सुनका गरगहना लुटपाट गरेर भागे ।  

त्यस्तै ओखलढुंगाकै चिसंखुगढी गाउँपालिका–६ भदौरेमा गत पुस १५ गते ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भयो । उनीहरूलाई सुरुमा कुटपिट र पछि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखायो । उक्त समूहले पसल तथा कोठामा रहेको अन्दाजी एक लाख नगद तथा सुनको गरगहना र काँचो सुनसमेत गरी ६ तोलासमेत लुटपाट गरी लगेका थिए ।  

दुई महिनाको अवधिमा एकै प्रकृतिको घटना घटेको थियो । हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरी गहिरो अनुसन्धानमा जुट्यो । अनुसन्धान क्रममा दुवै घटनाको रहस्य पत्ता लाग्यो । हत्या गर्ने हत्यारा टाढाका थिएनन् । चिसंखुगढी गाउँपालिका–३का २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका–४का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८का दोर्जे भनिने अशोक भुजेल रहेको प्रहरीले जनाएको छ । 

दुवै घटनामा संलग्नताको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेर जेल चलान गरेको छ । प्रहरीले उनीहरूको साथबाट हत्या तथा लुटपाटमा प्रयोग भएको चक्कु, ७ दशमलव ६५ एमएमका गोलीका खोका, मोबाइल, गरगहना, नगद बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक मदन केसीले लुटपाट गर्ने उद्देश्यले हत्या भएको बताउँछन् । ‘उनीहरू गाँजा सेवन गर्ने दुर्व्यसनी हुन्,’ उनले भने, ‘लुटपाट गर्ने क्रममा ज्यान मार्नेसम्म अपराध गरे ।’ पहिले लुटपाट गर्ने अनि परिचय खुल्ने डरले हत्या गर्ने गरेको अभियुक्तले प्रहरीसमक्ष बयान दिएका थिए । 

यो घटना एउटा उदाहरण मात्र हो । नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । लागुऔषध प्रयोगकर्ताको संख्या मात्रै होइन, सामाजिक र संगठित प्रकारका अधिकांश अपराधमा पनि लागुऔषध जोडिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले अपराधमा दुर्व्यसनी कारक तत्व देखिएको बताउँछन् । उनी भन्छन्, ‘घरेलु, महिला हिंसा, सवारी दुर्घटनादेखि हत्यासम्म दुर्व्यसनी कारक तत्व देखिन्छ, तर डाटामा भने देखिँदैन ।’ दुर्व्यसनीमा फसेका युवाहरूको सकारात्मक भावना र मानवता क्रमशः ह्रास हुँदै जाने गरेको उनी बताउँछन् । दुर्व्यसनीमा फसेका युवाहरू उत्तेजित हुने, सोच्ने क्षमतामा ह्रास आउने हुँदा परिणामको ध्यान नदिँदा आपराधिक घटना घटिरहेको उनले बताए । उनी भन्छन्, ‘नसा सेवनका लागि पैसाको जोहो गर्न हत्या, हिंसा, चोरी–डकैतीजस्ता आपराधिक गतिविधिमा संलग्न हुनुको साथै जस्तोसुकै मूल्य चुकाउन पनि पछि पर्दैनन् ।’

कारागारमा दुर्व्यसनीको संख्या धेरै

कारागार व्यवस्थापन विभागमा ६ हजार ११९ जनाले  लागुपदार्थ दुर्व्यसन तथा कारोबार गरेको आरोपमा कैद भुक्तान गरीरहेका छन् । विभागका निर्देशक चोमेन्द्र न्योपानेका अनुसार, ६४१ जना विदेशीले पनि कैद भुक्तान गरिरहेका छन् । ‘देशभरका कारागारमा जबरजस्ती करणी पछिको दोस्रो नं. लागुऔषध ओसारपसार तथा दुर्व्यसनका मुद्दामा कारागार चलान हुनेको संख्या बढ्दोक्रममा छ,’ उनले भने, ‘लागुऔषधमा फसेका विदेशी नागरिकको संख्या बढ्दो छ ।’

गृह मन्त्रालयले ६ वर्षअघि गरेको सर्वेक्षणअनुसार, एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको संख्या छ । त्यसमध्ये सात प्रतिशत महिला छन । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । त्यसयता सरकारले सर्वेक्षण गरेको छैन । 

अधिकांश कक्षा ८ देखि पढ्दै गरेका झन्डै ७० प्रतिशत विद्यार्थी दुर्व्यसनीमा फस्ने गरेको नार्कोनन नेपालका अध्यक्ष एवं पूर्वएसएसपी वसन्तराज कुँवर बताउँछन् । उनको अध्ययनअनुसार, नेपालमा ८० प्रतिशत प्रयोगकर्ता १४ देखि १९ वर्षको उमेरमा कुलतमा फस्छन्, तर तिनीहरू पुनस्र्थापना केन्द्रसम्म आइपुग्न ७ देखि १० वर्ष ढिलो भइसकेको हुन्छ । उनी भन्छन्, ‘जब मानिस लागुपदार्थ प्रयोगकर्ता हुन्छ, त्यसपछि ऊ दुर्व्यसनीमा परिणत हुन्छ, नसा सेवन नगरी बाँच्नै नसक्ने अवस्थामा पुग्छ, त्यसपछि उसले आफू र लागुऔषधबाहेक केही देख्दैन । उसलाई माया, ममता, सहयोगजस्ता मानवीय भावना आउँदैन ।’ 

दुर्व्यसनी बढ्दै गएका कारण कारोबारी पनि बढ्दै गएको उनी बताउँछन् । सुरुमा दुर्व्यसनीले आफनो लागि मात्र लागुपदार्थको जोहो गरेको हुन्छ । पछि दुर्व्यसनमा परेको व्यक्तिले आफूले केही पैसा नाफामा राखेर अन्य साथीलाई खान प्रेरित गरेर पनि बेचेको पाइएको उनी बताउँछन् । नेपालमा लागुपदार्थ सेवन गर्न छाड्यो भने कारोबारको पनि अन्त्य हुने उनी बताउँछन् । 

उत्सुकता र संगतले फस्छन् 

वरिष्ठ मनोरोग विशेषज्ञ डाक्टर अरविन्द भुसालले उमेरजन्य उत्सुकता र साथीभाइको संगत एवं आग्रहले युवाहरू लागुपदार्थ दुर्व्यसनमा फस्ने गरेको पाइएको बताउँछन् । नयाँ अनुभव लिन वा मनोरञ्जनका लागि सुरु गरिएको सेवनपछि लतमा परिणत भएको उनी बताउँछन् । करिअरमा सोचेजस्तो सफलता नहुँदा पनि युवाहरू दुर्व्यसनमा फस्ने गरेको उल्लेख गर्दै डा. भुसाल भन्छन्, ‘गलत संगत र साथीहरूको प्रभावले युवाहरू लागुपदार्थ प्रयोगतर्फ आकर्षित हुन्छन् । रोजगारीको अभाव, आर्थिक समस्या र भविष्यप्रतिको चिन्ताले दुर्व्यसनतर्फ धकेलिएका हुन्छन् ।’

यीबाहेक पनि युवाहरू दुर्व्यसनमा फस्नुका कारण छन् । पछिल्लो समयमा पारिवारिक विखण्डन अर्को कारण हो । बुवाआमाबीच बढ्दै गएको सम्बन्धविच्छेद, त्यसपछिको बेवास्ता वा निगरानीको कमीले पनि किशोरकिशोरी दुर्व्यसनमा फस्ने गरको पाइएको छ । ‘डिप्रेसन, चिन्ता, एक्लोपन र मानसिक दबाबबाट छुटकारा पाउन खोज्दा लागुपदार्थ सेवन गर्ने प्रवृत्ति छ,’ उनले भने, ‘लागुपदार्थको अवैध कारोबार र सहज उपलब्धताले प्रयोग बढ्दै गएको छ ।’ 

त्यसो त लागुऔषध दुर्व्यसन पनि एक किसिमको रोग हो । मानसिक चिकित्सकसँग उपचार गराए ठिक हुने उल्लेख गर्दै डा.भुसाल भन्छन्, ‘दुर्व्यसनीलाई घृणा गरेर ट्यापे, गँजडी, जँड्याहा भन्यो भने झन् बढ्छ । त्यसैले उनीहरूलाई पुनस्र्थापना गर्नका लागि सकारात्मक भूमिका खेल्नुपर्छ ।’

नेपालमा लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६का अनुसार लागुऔषध दुर्व्यसनका कारणमा साथीभाइको दबाब, मनोरञ्जनका लागि, उत्सुकता मेटाउन, मानसिक तनावका कारण, पारिवारिक समस्या र बेमेल, डिप्रेसन, पढाइमा समस्या परेर, बेरोजगारी, आर्थिक प्रलोभनमा परेर लागुऔषध प्रयोगकर्ता बन्दछन् । एकपटक लागुऔषध प्रयोग गरेर छुटेका प्रयोगकर्ता पनि साथीभाइको दबाब र पुनस्र्थापना भएर घर फर्कंदा समाजको अपहेलना र दुव्र्यवहारका कारण माया, ममता र सम्मान नपाएकै कारण पुनः दुर्व्यसनी बन्न पुग्छन् ।

प्रहरीकै सुधार शिविर 

२०५४ असारमा काठमाडौं उपत्यकाभित्र विभिन्न प्रकारका अपराधिक गतिविधि बढ्दै गएको पाएपछि नेपाल प्रहरीले २७२ जना युवालाई पक्राउ गर्‍यो । ती युवाहरूलाई पक्राउ गरेर छानबिन गर्दा १११ जना युवा लागुऔषध दुर्व्यसनमा फसेको भेटिए । दुर्व्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिएर नेपाल प्रहरीको पहल कदमीमा २०५४ असार १मा ‘लागुऔषध दुर्व्यसनी सुधार शिविर’ स्थापना भयो । प्रहरीले उक्त समूहलाई तीन महिनासम्म निःशुल्क उपचार गरेको थियो । उक्त शिविर सञ्चालन गर्ने जिम्मेवारी २०५४ साल असोजदेखि नेपाल प्रहरी श्रीमती संघलाई हस्तान्तरण गरियो । संघको सुपरिवेक्षणमा अहिले पनि शिविर सञ्चालन हुँदै आएको छ । उक्त शिविरको नाम परिवर्तन गरी ‘आसरा सुधार केन्द्र’का रूपमा गैसस बनाइयो । अहिले पनि गृह मन्त्रालयमा आबद्धसमेत भई सेवा प्रदान गर्दै आएको छ । 

गृह मन्त्रालयको तथ्यांकअनुसार लागुऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई दुर्व्यसनबाट छुटाई समाजमा पुनस्र्थापना गर्न नेपालभर २४० भन्दा बढी उपचार तथा पुनस्र्थापना केन्द्रहरू सञ्चालनमा छन् । केन्द्रमा उपचार गराउन आएका दुर्व्यसनीहरू लागुऔषध प्रयोगकर्ताहरूमा हेपाटाइटिस बी, सी, क्षयरोग, एचआइभी/एड्स, यौनरोग, कुपोषणलगायत विभिन्न स्वास्थ्य समस्या देखापरेका छन् । दुर्व्यसनीमा सरुवा रोग लाग्ने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्युसमेत हुने गरेको लागुऔषध नियन्त्रण शाखाले जनाएको छ । त्योभन्दा धेरै मानसिक समस्या छ । एकोहोरोपन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना भइ आत्महत्या गर्न प्रेरित हुने देखिएको छ । 

ट्रान्जिन्ट प्वाइन्ट नै नेपाल 

पछिल्लो समय छिमेक र तेस्रो मुलुकका नागरिकले पनि नेपाललाई लागुऔषध कारोबारको ट्रान्जिन्ट प्वाइन्ट बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, अहिले पनि नेपालका कारागारमा ६४१ जना विदेशी नागरिक छन् । चीन, बंगलादेश, तानजानिया, रसिया, भियतनाम, युक्रेन, म्यानमार, ब्राजिल, साउथ अफ्रिका, उज्वेकिस्तानलगायत देशका नागरिक नेपाल आएर लागुऔषध कारोबार गरेको आरोपमा कारागार चलान भएका हुन् । यसले पनि छिमेकी वा तेस्रो मुलुकका नागरिकले नेपाललाई लागुऔषध कारोबारको ट्रान्जिन्ट प्वाइन्ट बनाउन थालेको देखिन्छ । लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबार गर्दै गरेको अवस्थामा विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएर कारागार चलान गरेको छ ।

ब्युरोका अनुसार, आर्थिक वर्ष २०८०/८१मा ६ हजार ७१५ जना लागुपदार्थ कारोबारीलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । त्यसमध्ये २९२ जना विदेशी नागरिक थिए । त्यस्तै, आर्थिक वर्ष २०८१/०८२मा ७ हजार ८९० जना मध्य ३२८ जना र चालु आर्थिक वर्ष २०८२/०८३ वैशाखसम्म ६ हजार ९४७ जना पक्राउ गरेकामध्ये २५९ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । ब्युरोले मध्यान्हलाई उपलब्ध गराएको तथ्यांकअनुसार, पछिल्लो तीन वर्षमा नेपालमा आएर लागुऔषध कारोबार गर्नेको संख्या पनि बढ्दै गएको देखिन्छ । प्रायःजसो विदेशी नागरिक लागुऔषध लिएर नेपाल प्रवेश गर्ने क्रममा र नेपाल आएर अन्य देशमा प्रवेश गर्ने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्ने गरेका छन् । ब्युरोका प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मी थाइल्यान्डबाट नेपाल हुँदै भारतमा गाँजा, हिरोइनजस्ता लागुऔषध कारोबार गर्ने गरेको पाइएको बताउँछन् । ‘पक्राउ परेका अधिकांश कारोबारी नै हुन्,’ उनले भने, ‘कारोबारको सञ्जाल ठुलो छ । एउटा कारोबारीलाई पक्राउ गर्दा अन्य पनि तानिएका हुन् ।’ 

रेग्मीका अनुसार लागुऔषधको उत्पादन र मुख्य कारोबार विदेशमै हुन्छ । ‘कारोबार गर्ने व्यक्तिले फलानो व्यक्तिलाई भेट्न भन्दै ह्वाट्सएप नं. दिएर नेपाल पठाउँछन्, कारोबारीबीच पनि ह्वाट्सएप नं. बाहेक अन्य जानकारी हुँदैन,’ उनले भने, ‘नेपालमा रिसिभ गर्ने अर्को हुन्छ, अर्कै व्यक्तिबाट अन्य देशमा जान्छ, यसरी नै कारोबार भइरहेको पाइएको छ ।’

कुनै बेला नेपालमा गाँजाको खुलेआम कारोबार हुन्थ्यो । लागुऔषध नियन्त्रण ऐन,२०३३ कार्यान्वयनमा आएपछि गाँजालाई कानुनतः प्रतिबन्ध लगाइयो । अहिले पनि गाँजा खेती प्रतिबन्ध फुकुवा हुनुपर्ने आमचासो रहेको छ । धागो र औषधिजन्य प्रयोगका लागि व्यावसायिक खेतीका लागि प्रतिबन्ध फुकुवा भएमा त्यसबाट मनग्य आम्दानी हुनुको साथै कृषकको जीवनस्तरमा सुधार हुने बुझाइसहित लबिइङ भइरहेको छ । गाँजा खेती गरेर आर्थिक समृद्धि हुन्छ भन्ने विषयमा पनि तर्क हुँदै आएको छ । तर, गाँजा तथा गाँजाजन्य पदार्थको खेती उत्पादन तथा बिक्री वितरणमाथि वर्तमान कानुनी प्रबन्धहरूले रोक लगाएको लागुऔषध नियन्त्रण शाखाका उपसचिव पर्शुराम पोखरेल बताउँछन् । ‘तथापि नेपालमा पाइने गाँजामा हानिकारक तत्व कति मात्रामा पाइन्छ भन्ने सम्बन्धमा हालसम्म अध्ययन भएको छैन,’ उनले भने, ‘नेपालले गाँजाको औषधिजन्य र अनुसन्धानमूलक प्रयोजनको लागि मात्र खुला गर्ने पक्षमा आफ्नो मत जाहेर गरेको छ । तर, गाँजाको खेती वा मनोरञ्जनका लागि फुकुवा भएको भने होइन ।’

के हो लागुऔषध ? 

मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु लागुऔषध हो । कानुनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थ हो । विश्व स्वास्थ्य संगठनले लागुपदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ । लागुऔषध नियन्त्रण ऐन २०३३को दफा ३मा लागुऔषधलाई गाँजा, औषधोपयोगी गाँजा, अफिम, तैयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झार पात र अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवणसमेत मिलाई तयार गरिने कुनै पदार्थलाई लागुऔषध भनेको छ । प्राकृतिक रूपमा उम्रने वा मानिसद्धारा उत्पादित पदार्थहरू जस्तै– गाँजा, चरेस, भाङ, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागुपदार्थ भनिन्छ । त्यस्तै, मानवजीवन रक्षाका लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाहविपरीत नसा लिनका लागि प्रयोग गर्दछन्, त्यसलाई औषधिजन्य लागुपदार्थ भनिन्छ । जस्तैः– नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सिभोन, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सिडिल, फेनकोडिन नो–कफ आदि ।

नेपालको कानुनले गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । अफिम, कोका वा सोबाट बनेको लागुऔषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । लागुऔषधसम्बन्धी अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । 

सम्बन्धित खबर