२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

नेपाल-भारत सम्बन्धमा आएन नयाँपन

Nada
दिवाकर अधिकारी
२०८३ असार ३ गते ०६:४०
Shares
नेपाल-भारत सम्बन्धमा आएन नयाँपन

काठमाडौं : पछिल्लो समय नेपालको संसद्मा उठिरहेको विषय हो, नेपाल–भारत सम्बन्धमा के हुँदै छ ? यसबारे न सरकारले प्रस्ट जवाफ दिन सकेको न सांसदहरू बोल्न छाडेका छन् । संसद्को यस्तो दृश्यले नागरिक भने अलमलमा परेका छन् । 

ncell

नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवका अनुसार नेपाल–भारत सम्बन्धबारे नागरिक स्तरमा अन्योल सिर्जना हुनुको कारणमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिम्मेवार छ । 

एकातिर प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्नु र अर्काेतिर सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीको प्रवेश हुनुले आशंका जन्माएको छ । 

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसदिन उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’ 

यही विषय स्मरण गर्दै मंगलबार संसद्मा कांग्रेसकी सांसद रेखा कुमारीले भनिन्, ‘प्रधानमन्त्री बालेनको अभिव्यक्तिपश्चात् देशमा के–कस्ता क्रियाकलाप भइराखेको छ ? सुस्तामा भारतीय सीमा सुरक्षा बल आइराखेको छ । नेपाली आकाशमा विनाअनुमति भारतीय सेनाको हेलिकप्टर उडेको छ ।’ 

प्रधानमन्त्रीको अभिव्यक्तिउपर प्रश्न उठिरहेका बेला नेपाल–भारत सम्बन्धका अन्य विषयसमेत सतहमा आएका छन् । प्रधानमन्त्री बालेनको अभिव्यक्तिलगत्तै रास्वपाका सभापति रवि लामिछानेले पाँचदिने भारत भ्रमण गरे । त्यसक्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटे । लामिछाने स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण गरे । 

रास्वपा सभापति लामिछाने र परराष्ट्रमन्त्री भारत जानु केही दिनअघि नेपाली चिया निर्यातको अवरोध हटेको थियो । फर्किएको केही दिनपछि फेरि भारतको चिया निर्यातमा अवरोध भयो । परिणममा हाल नेपालमा ८० भन्दा बढी नेपाली चिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । 

नेपाली कांग्रेसका सचेतक निश्कल राईका अनुसार भारतीय अवरोधकै कारण इलामको मेरुदण्डका रूपमा रहेको चिया उद्योग गम्भीर संकटमा परेको छ । यो प्राविधिक समस्या मात्र नभएर कूटनीतिक विषय हो । यसकारण सरकारी तहमा वार्ता गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा उनको जोड छ । 

अर्थात्, नेपालको सत्तारुढ दलको उच्च स्तरको भ्रमणपछि पनि भारतले नेपाली चियाको गुणस्तर खोजेर निर्यातमा अवरोध खडा गरेको छ । 

यसबीचमा नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरे । त्यसक्रममा नेपाली समुदायसँग सामान्य भनाभन समेत भएको थियो ।  यी विषयमा नेपाल सरकारले भारत सरकारसँग संवाद गरिरहेको छैन । 

यस्ता विषय आइरहेका बेला दार्चुलामा नेपाली आकाशमा विनाअनुमति भारतीय सेनाको हेलिकप्टर उड्यो । जसमा भारतीय सेनाका उच्च अधिकार सवार रहेको भनेर संसद्मै विषय उठ्यो । तर, सरकार नेपाल–भारत सम्बन्धबारे उठेका सबै विषयमा मौन बसिरहेको छ । यसलाई कतिपयले रास्वपाको कूटनीतिक पहल र परिपक्वतासँग जोडेर हेरेका छन् । 

यही बेला भारतमाथि दबाब बढ्नेगरी नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदनबारे नेपालमा बहस भयो । इपिजीका नेपालतर्फका संयोजक डा.भेषबहादुर थापाले प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाए । इपिजीले सन् २०१८मै प्रतिवेदन तयार पारे पनि दुवै देशका प्रधानमन्त्रीले उक्त प्रतिवेदन बुझ्न बाँकी छ । 

यही बेला नेपालमा भारतीय ट्रकको निर्बाध नेपाल प्रवेशको विषय उठेको हो । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार समितिले यो विषयमा छलफल गर्‍यो । जहाँ सरकारी अधिकारी र सांसदहरूले नेपालमा भारतीय ट्रकको निर्वाध प्रवेश हुने गरेको र भारतीय ट्रकको कारणले नेपालका रोडहरूमा एक साइड भासिएको विषय उठाए । यो विषयमा सरकारले कुनै न कुनै कदम चाल्नुपर्ने आग्रह गरे । 

तर सरकार औपचारिक रूपमा कुनै पनि विषयमा बोलिरहेको छैन । 

अर्थात् रास्वपाले भने जस्तो सरकारले पुराना ब्यागेज नराखेर छिमेक सम्बन्ध विस्तार गर्न खोजे पनि एक पछि अर्को समस्या खडा भइराखेका छन् । समस्या पुरानै छन् । इपिजी प्रतिवेदन, चिया निर्यातमा अवरोध, सुस्ता विवाद आदि । 

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय उपस्थिति र सैन्य क्याम्पबारे कुनै छलफलको गुञ्जायस छैन । यसकारण नेपाल–भारत सम्बन्धमा नयाँपन देखिन नसकेको हो । 

नेपाल नियाल्दै चीन

‘टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो’

रास्वपा नयाँ बलियो शक्तिको रूपमा उदय भएसँगै चीनले नेपाललाई नियाल्दै छ । उसले शान्त कूटनीतिमार्फत नेपालसँग आफ्नो प्राथमिकता र चासो भनिरहेको छ । 

नेपालका परराष्ट्रपति शिशिर खनाल चीन भ्रमणमै छन् । भारत भ्रमण सकेलगत्तै चीन गएका खनालले चीनका उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् । 

परराष्ट्रमन्त्री शिशिर खनालसँग बेइजिङमा भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले इतिहास र यथार्थले चीन–नेपाल मित्रता नेपाल राष्ट्र, नेपाली जनता तथा राष्ट्रिय हितका लागि लाभदायक रहेको प्रमाणित गरेको बताएका छन् । चीनले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको महत्वपूर्ण स्थानमा राखेको पनि बताएका छन् । साथमा उनले भनेका छन्, ‘टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो हुनेछ ।’

अर्थात् चीन नेपालको नयाँ शक्तिलाई पनि चीनको महत्व बुझाउन खोज्दै छ । कतिपयले रास्वपालाई पश्चिमा शक्तिसँग जोड्ने गरेको पृष्ठभूमिमा चीनले टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो हुने सन्देश प्रवाह गरेको हो । 

यसबाहेक परराष्ट्रमन्त्री खनालसँगको भेटमा चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले पनि अनुकूल व्यावसायिक वातावरण बनाइदिनुपर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

यसबाहेक भेटमा चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले थप निष्पक्ष, पारदर्शी तथा अनुकूल व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा गरेको बताएको  चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

पोखरा विमानस्थललगायत चिनियाँ कम्पनीले गरेका आयोजनामा भएको भ्रष्टाचार छानबिनप्रति उसको चासो थियो । परराष्ट्रमन्त्री खनालले सो छानबिन चिनियाँ सरकारलक्षित नभएको प्रस्ट पार्ने कोसिस गरिएको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर