
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउनका लागि उक्त तयारी भइरहेको भन्दै उनले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरूसहित सम्बन्धित सबै पक्षसँग आग्रह पनि गरे ।
बुधवार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताए ।
उनले सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी भइरहेको पनि बताए ।
मन्त्री मेहताले सरकारले विगतभन्दा बढी प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेको दाबी समेत गरे ।