२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

डिजिटल प्रविधि र एआईको प्रयोगमार्फत पर्यटन प्रवर्धनमा जोड

Nada
रामहरि कार्की
२०८३ असार ४ गते २२:००
Shares
डिजिटल प्रविधि र एआईको प्रयोगमार्फत पर्यटन प्रवर्धनमा जोड

ललितपुर : परम्परागत संस्कृति, मौलिक जीवनशैली र प्राकृतिक सौन्दर्यले भरिपूर्ण ललितपुरको महालक्ष्मी नगरपालिकालाई पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सञ्चारकर्मीको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिइएको छ । 

ncell

पर्यटन प्रवर्धनका लागि पत्रकारिता भूमिकामा केन्द्रित दुई दिने अभिमुखीकरण कार्यक्रम बिहीबारदेखि सुरु भएको हो ।

महालक्ष्मी नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजनमा आयोजित ‘पर्यटन प्रवर्धनमा पत्रकारको भूमिका’ विषयक कार्यक्रममा वक्ताहरूले पर्यटन केवल पूर्वाधार निर्माणले मात्र नभई प्रभावकारी सञ्चार, तथ्यपरक सामग्री र सिर्जनात्मक प्रस्तुतीकरणबाट पनि प्रवर्धन हुने धारणा राखे ।

कार्यक्रम उद्घाटन गर्दै महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोविन्द महर्जनले नगरभित्र रहेका सांस्कृतिक तथा प्राकृतिक सम्पदाको उचित प्रचारप्रसार हुन नसक्दा अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न नसकिएको बताए । उनले सिद्धिपुर र लुभुजस्ता ऐतिहासिक तथा सांस्कृतिक बस्तीहरूमा पर्यटन विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै तिनको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताए ।

‘सिद्धिपुर र लुभुको मौलिक संस्कृति, परम्परा र जीवनशैली आफैंमा पर्यटकका लागि आकर्षणका केन्द्र हुन्,’उनले भने, ‘लाकुरीभञ्ज्याङबाट देखिने मनोरम दृश्य र प्राकृतिक सौन्दर्य पनि उत्तिकै लोभलाग्दो छ । यी सम्पदालाई जनमानसमा पुर्‍याउने जिम्मेवारी अब पत्रकारहरूको काँधमा छ ।’

उनले स्थानीय तहले पर्यटनमैत्री पूर्वाधार निर्माण, सम्पदा संरक्षण र प्रवर्धनका लागि विभिन्न योजना अघि बढाइरहेको जानकारी दिँदै त्यसलाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले डिजिटल प्रविधिको तीव्र विकाससँगै पर्यटन प्रवर्धनका नयाँ अवसरहरू खुलेको बताए । एआईको प्रयोगमार्फत पर्यटनसँग सम्बन्धित सामग्री, भिडियो, तस्बिर तथा प्रवर्धनात्मक सामग्री निर्माण गर्न सकिने उल्लेख गर्दै उनले पत्रकारहरूलाई तथ्यपरक र जिम्मेवार बन्न आग्रह गरे ।

‘एआई प्रभावकारी साधन हो, तर यसले दिने सामग्रीलाई जाँचबुझ नगरी प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ,’ उनले भने, ‘पर्यटन प्रवर्धनका नाममा गलत तथ्य प्रवाह भए त्यसले गन्तव्यको विश्वसनीयतामै असर पुर्‍याउन सक्छ । त्यसैले तथ्य परीक्षण पत्रकारको पहिलो जिम्मेवारी हो ।’

कार्यक्रमका प्रशिक्षक बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा तथा सञ्चारकर्मी जीवन भण्डारीले पर्यटन पत्रकारितामा डिजिटल प्रविधि र एआईको उपयोगबारे प्रशिक्षण दिएका थिए । उनीहरूले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र एआईका विभिन्न उपकरण प्रयोग गरी स्थानीय पर्यटन सम्पदाको प्रभावकारी ब्रान्डिङ गर्न सकिने बताए ।

प्रशिक्षकहरूले अहिले विश्वभर पर्यटकले गन्तव्य छनोट गर्नुअघि अनलाइन सामग्रीको अध्ययन गर्ने प्रवृत्ति बढेकाले स्थानीय तहका पर्यटन सम्भावनालाई आकर्षक ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले स्थानीय संस्कृति, सम्पदा, खानपान, कला र प्राकृतिक सौन्दर्यलाई केन्द्रमा राखेर गुणस्तरीय सामग्री उत्पादन गर्न सके पर्यटन क्षेत्रको विकासमा ठोस योगदान पुग्ने धारणा व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीका अनुसार शुक्रबारसम्म सञ्चालन हुने कार्यक्रममा ललितपुरका विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब ९० जना पत्रकारहरूको सहभागिता रहेको छ । कार्यक्रमले पत्रकारहरूलाई पर्यटन प्रवर्धनमा आधुनिक प्रविधिको प्रयोग, तथ्यमा आधारित सामग्री निर्माण तथा स्थानीय पर्यटनको सम्भावनालाई उजागर गर्ने सीप विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित खबर