
काठमाडौं : एटलान्टिक महासागरको सानो टापु राष्ट्र केप भर्डेले फिफा विश्वकप २०२६ मा आफ्नो सनसनीपूर्ण प्रदर्शन जारी राख्दै पूर्वविजेता उरुग्वेलाई बराबरीमा रोकेको छ ।
‘द ब्लु साक्र्स’ उपनामले चिनिने केप भर्डेले दक्षिण अमेरिकी पावरहाउस उरुग्वेसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको हो । खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको केप भर्डेका लागि केभिन पिनाले ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रि–किक सिधै गोलमा परिणत भएको थियो । उरुग्वेले पुनरागमन गरे पनि हेलियो भारेलाले उत्कृष्ट संयमता देखाउँदै गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।
तथ्यांक अनुसार केप भर्डेले उरुग्वेको तुलनामा बढी आक्रमण गरेको थियो । उरुग्वेका २ प्रहारको विरुद्ध केप भर्डेले गोलपोस्टमा ४ वटा सटिक प्रहार गरेको थियो ।
करिब ५ लाख २५ हजार मात्र जनसंख्या भएको यो सानो टापु राष्ट्रले आफ्नो पहिलो विश्वकप सहभागितामै विश्वलाई चकित पारिरहेको छ । यसअघि आफ्नो पहिलो खेलमा आफूभन्दा ६५ स्थान माथि रहेको स्पेनलाई बराबरीमा रोकेर केप भर्डेले सबैभन्दा ठुलो अप्रत्याशित नतिजा निकालेको थियो ।
सन् २००२ मा सेनेगलले बनाएको कीर्तिमानपछि आफ्नो पहिलो दुई विश्वकप खेलमा अपराजित रहने केप भर्डे पहिलो डेब्यू टोली बनेको छ । टोलीका गोलकिपर भोजिन्हाको लोकप्रियता पनि निकै बढेको छ, स्पेनसँगको खेलअघि ४० हजार फलोअर्स रहेको उनको इन्स्टाग्राममा अहिले १५ मिलियनभन्दा बढी फलोअर्स पुगेका छन् ।
हाल समूह ‘एच’मा केप भर्डे २ अंकका साथ तेस्रो स्थानमा छ र उरुग्वेसँग उसको अंक बराबर छ । नयाँ ढाँचाको विश्वकप भएकाले केप भर्डेको अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना छ ।
शनिबार हुने साउदी अरबविरुद्धको अन्तिम समूह खेलमा जित हात पारेमा केप भर्डेको नकआउट चरणमा स्थान पक्का हुनेछ ।
हाल फिफा वरीयतामा ६३औं स्थानमा रहेको केप भर्डेभन्दा कम वरीयतामा रहेर नकआउट पुग्ने टोलीहरूमा नाइजेरिया (१९९८) र रुस (२०१८) मात्र रहेका छन् ।