२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

विवाहित छोरीलाई पनि अपुताली हक

Nada
दिवाकर अधिकारी
२०८३ असार १४ गते ०६:१५
Shares
विवाहित छोरीलाई पनि अपुताली हक

काठमाडौं : अपुताली सम्पतिको हकवाला विवाहित छोरी पनि थपिने भएको छ । यसका निम्ति सरकारले मुलुकी देवानी संहिता २०७४मा संशोधन गर्दै छ । 

ncell

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयक ल्याउनुको कारणमा ‘हालको व्यवस्थामा अपुताली पाउने हकवालाको प्राथमिकताक्रममा विवाह भई सगोलमा नबसेकी विवाहित छोरी छुटेको हुँदा सो व्यवस्था थप गर्ने’ भनिएको छ । 

मुलुकी देवानी संहिता २०७४ को दफा २३९मा अपुताली पाउने हकवालाको प्राथमिकताक्रम सम्बन्धी व्यवस्था छ । जसअन्तर्गत अपुतालीमा सगोलको पति वा पत्नीको पहिलो हक हुनेछ । त्यसछि सगोलको छोरा, छोरी, विधवा बुहारी हकवालामा रहन्छन् । 

तेस्रो प्राथमिकताक्रममा सगोलका बाबु, आमा, सौतेनी आमा, छोराछोरी तर्फका नाति, नातिनी, नातिनी र बुहारी छन् । यहाँनेर सौतेनी भन्ने शब्दपछि ‘विवाह भई सगोलमा नबसेकी विवाहित छोरी’ भन्ने शब्दहरू राखिएको छ । 

यसपछि अपुतालीमा सम्पतिको हकवालाको चौथो प्राथमिकताक्रममा भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा रहन्छन् । त्यसपछिको क्रममा भिन्न भएका छोरातर्फका नाति, नातिनी, भिन्न भएका बाजे, बज्यै पर्दछन् । 

यहाँसम्म पनि हकवाला नभेटिए सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी हकवाला हुनेछन् । सगोलका काका, काकी, भतिजा, भतिजी, भिन्न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ–बुहारी अन्तिम हकवाला हुनेछन् । 

यो प्राथमिकताक्रममा पहिले विवाहित छोरी थिएन । थपेर सरकारले प्रचलित ऐन संशोधन गर्न लागेको हो । यो विधेयक ऐनमा रूपान्तरित भए विवाह भएर बाबु–आमासँग सगोलमा नबसेकी छोरीले पनि अपुतालीको अधिकार प्राप्त गर्नेछिन् । 

नेपालको संविधानको धारा ३८को उपधारा (१)मा प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुने व्यवस्था छ । यस व्यवस्थाअनुसार  विवाह भई सगोलमा नबसेकी विवाहित छोरीको समेत अपुताली पाउने हक सुनिश्चित हुने गरी ऐन बनाउन लागिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

अर्थात्, सरकारले यो व्यवस्थालाई संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र महिलाको सम्पत्ति अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने कदमका रूपमा प्रस्तुत गरेको छ । कानुनविद् र महिला अधिकारकर्मीले पनि यस्तो हक माग गर्दै आएका थिए । 

प्रचलित कानुनमा छोरा र छोरी दुवैलाई समान सम्पत्ति अधिकारको व्यवस्था भए पनि विवाह भइसकेकी र बाबु–आमासँग सगोलमा नबसेकी छोरीको हकमा समानता छैन । विवाहपछि छोरी ‘अर्काको घरको सदस्य’ भएको मान्ने सामाजिक मान्यताका कारण पनि माइतीको सम्पत्तिमा दाबी कमजोर हुने गरेको छ । 

यसमा सुधार गर्दै सरकारले विवाहित छोरीलाई पनि अपुताली पाउने हकवालाको प्राथमिकताक्रममा स्पष्ट रूपमा राख्न खोजेको हो । 

प्रस्तावित विधेयक ऐनमा रुपान्तरित भएपछि विवाह भएकै कारण वा माइतीसँग सगोलमा नबसेकै कारण छोरीले सम्पतिको हक अधिकार गुमाउनुपर्ने छैन । अर्थात्, विवाहले छोरीको माइतीसँगको वैधानिक सम्बन्ध समाप्त गर्दैन । छोरी पनि परिवारको वैधानिक उत्तराधिकारी रहिरहन्छ । 

सम्बन्धविच्छेदमा स्वतन्त्रता 

अपुताली सम्पतिमा छोरीको हक लाग्ने प्रावधानसँगै सम्बन्धविच्छेदका लागि अदालतमा पुगेपछि एक वर्ष कुर्नुपर्ने बाध्यता हटाउने अर्को प्रस्ताव पनि प्रस्तावित विधेयकमा छ । 

अहिले पति र पत्नी दुवै सम्बन्धविच्छेद गर्न तयार भए पनि अदालतमा निवेदन परेपछि एक वर्ष कुर्नुपर्छ । तर, यदि दुई व्यक्ति आफ्नो सम्बन्ध समाप्त भएको निष्कर्षमा पुगिसकेका छन् भने राज्यले उनीहरूलाई किन एक वर्षसम्म मेलमिलापको नाममा कुराएर राख्ने भनेर सरकारले नयाँ व्यवस्था प्रस्ताव गरेको हो ।

प्रस्तावित संशोधनले अदालतलाई मेलमिलापको प्रयास गर्ने अधिकार त राख्छ, तर सम्बन्ध जोगिन नसक्ने अवस्था देखिएमा एक वर्षको बाध्यकारी प्रतीक्षा अवधि हटाउँछ । 

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार सम्बन्धविच्छेदलाई एक वर्ष नकुराउनु स्वतन्त्रताको विस्तार हो । धेरै विकसित मुलुकमा छोरी र छोराबीच उत्तराधिकारमा कुनै भिन्नता छैन । विवाहले महिलाको पारिवारिक वा सम्पत्ति अधिकार समाप्त गर्दैन ।

भारतले पनि उत्तराधिकारसम्बन्धी कानुन संशोधन गरेर छोरीलाई छोरासरह अधिकार दिएको दुई दशकभन्दा बढी भइसकेको छ । अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत धेरै देशमा ‘नो फल्ट डिभोर्स’को अवधारणा लागू छ । नेपाल पनि यही मोडेलतर्फ अग्रसर भएको हो ।

ताजा खबर

सम्बन्धित खबर