२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

अनियमित विद्युत् कटौतीले उपभोक्ता हैरान

Nada
घनश्याम बलम्पाकी
२०८३ असार १९ गते १७:१०
Shares
अनियमित विद्युत् कटौतीले उपभोक्ता हैरान

सर्लाही : सर्लाहीको बरहथवा क्षेत्रका उपभोक्ताहरू पछिल्ला केही दिनदेखि अनियमित विद्युत् कटौती र न्यून भोल्टेजको समस्याका कारण निकै मर्कामा परेका छन् । बिना पूर्वसूचना विद्युत् काटिने र विद्युत भएको समयमा पनि भोल्टेज कम हुँदा यस क्षेत्रका सर्वसाधारणको जनजीवन प्रभावित भएको हो ।

ncell

प्रचण्ड गर्मीको समयमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा र न्यून भोल्टेजका कारण पंखा समेत नचल्दा घरभित्र बस्न नसकिने अवस्था रहेको स्थानीयको गुनासो छ । बागमती–८ का स्थानीय कृष्णदेव महतोले गर्मीको बेला विद्युत् नहुँदा थप सास्ती भोग्नुपरेको बताए । बारम्बारको विद्युत् अवरोधले विद्युतीय उपकरणहरू बिग्रिने जोखिम समेत बढेको उपभोक्ताहरूले बताएका छन् । कतिपय उपभोक्ताले कर्मचारीको चरम लापरबाहीका कारण यस्तो समस्या भोग्नुपरेको आरोप समेत लगाएका छन् ।

विद्युत्को अनियमितताले सर्वसाधारण मात्र नभई व्यवसायीहरू पनि उत्तिकै प्रभावित छन् । उद्योग वाणिज्य संघ बरहथवाका अध्यक्ष रामबाबु साहका अनुसार न्यून भोल्टेजका कारण व्यवसायीहरू जेनेरेटर चलाएर काम गर्न बाध्य छन् । विद्युत् समस्याकै कारण स्थानीय उद्योग, कलकारखाना, व्यापार, शिक्षण संस्था र सरकारी कार्यालयको सेवा प्रवाहमा समेत गम्भीर असर परेको व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूले विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन माग गरेका छन् ।

यता नेपाल विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रका प्रमुख अन्जली कुमार यादवले भने प्राविधिक कठिनाइका कारण समस्या उत्पन्न भएको बताएका छन् । उनका अनुसार नवलपुरमा रहेको सबस्टेशन बरहथवाभन्दा ३४ किलोमिटर टाढा रहेकाले लाइनमा समस्या आउँदा तत्काल समाधान गर्न समय लाग्ने गरेको हो । 'पुरानो संरचना भएकाले समय–समयमा प्राविधिक समस्या आउने गरेको छ,' यादवले भने ।

प्रमुख यादवले कर्मचारीको लापरबाही भएको भन्ने आरोपलाई भने अस्वीकार गरे । उपभोक्ताको गुनासो सम्बोधन गर्न र सेवालाई सुचारु राख्न कर्मचारीहरू अहोरात्र खटिरहेको उनले दाबी गरे ।

ताजा खबर

सम्बन्धित खबर