२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नर्वेलाई अहिलेसम्म हराउन सकेको छैन ब्राजिलले, को पुग्ला क्वार्टरफाइनल ?

Nada
२०८३ असार २१ गते १३:२८
Shares
नर्वेलाई अहिलेसम्म हराउन सकेको छैन ब्राजिलले, को पुग्ला क्वार्टरफाइनल ?

काठमाडौं : फिफा विश्वकप २०२६ को 'राउन्ड अफ १६' अन्तर्गत आइतबार साँझ एक निकै प्रतीक्षित खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले नर्वेको सामना गर्दैछ । अमेरिकाको न्यु जर्सीस्थित न्यु योर्क न्यु जर्सी स्टेडियममा हुने यो भिडन्त विश्वका दुई उत्कृष्ट फरवार्डहरू- ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्डको व्यक्तिगत प्रतिस्पर्धाका कारण पनि चर्चामा छ ।

ncell

विश्व फुटबलमा ब्राजिलको दबदबा रहे पनि नर्वे यस्तो देश हो जसलाई ब्राजिलले अहिलेसम्म पराजित गर्न सकेको छैन । इतिहास पल्टाउँदा यी दुई टोलीबीच भएका चार भेटमा नर्वेले दुई जित हात पारेको छ भने दुई खेल बराबरीमा टुंगिएका छन् । सन् १९९८ को विश्वकपमा नर्वेले ब्राजिललाई २-१ ले हराएको ऐतिहासिक क्षण अझै पनि फुटबल प्रेमीहरूको मानसपटलमा ताजा छ । नर्वेका वर्तमान प्रशिक्षक स्टाल सोल्बाकेन आफैं सन् १९९८ को उक्त विजयी टोलीका सदस्य थिए ।

यता ब्राजिलले सन् २००२ को विश्वकप फाइनलमा जर्मनीलाई हराएयता विश्वकपको नकआउट चरणमा कुनै पनि युरोपेली टोलीलाई पराजित गर्न सकेको छैन ।

यस प्रतियोगितामा चार गोल गरिसकेका भिनिसियस ब्राजिलका मुख्य हतियार हुन् । उनी सन् २००२ मा रोनाल्डो र रिभाल्डोपछि समूह चरणका सबै तीन खेलमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन् ।

यताआफ्नो पहिलो विश्वकप खेलिरहेका २५ वर्षीय हालान्डले प्रतियोगितामा नर्वेले गरेको कुल १० गोलमध्ये आधा अर्थात् ५ गोल एक्लैले गरेका छन् । नर्वेलाई पहिलो पटक क्वार्टरफाइनलमा पुर्‍याउन हालान्डको प्रदर्शन निर्णायक हुने देखिन्छ ।

ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीका लागि टोलीको चोटपटक टाउको दुखाइ बनेको छ । मिडफिल्डर लुकास पाक्वेटा चोटका कारण मैदान बाहिर छन् भने राफिन्हा पनि पूर्ण रूपमा फिट भइसकेका छैनन् । उता नर्वेका डिफेन्डर जुलियन रायरसन तिघ्राको चोटका कारण यो खेलमा सहभागी हुने छैनन् ।

ब्राजिलले समूह 'सी' को शीर्ष स्थानमा रहँदै र अन्तिम ३२ को खेलमा जापानलाई २-१ ले पन्छाउँदै राउन्ड अफ १६ मा स्थान बनाएको हो । नर्वेले भने समूह 'आई' मा दोस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा आइभरी कोस्टलाई २-१ ले हराएर पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको छ ।

'अप्टा सुपरकम्प्युटर'का अनुसार यो खेल निर्धारित समयमा जित्ने ब्राजिलको सम्भावना ५३.६ प्रतिशत छ भने नर्वेको सम्भावना २२.४ प्रतिशत मात्र रहेको छ । खेल अतिरिक्त समयमा जाने सम्भावना २४ प्रतिशत देखाइएको छ ।

यो खेलको विजेताले जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा मेक्सिको वा इंग्लयान्डको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खबर